लस एन्जलस ओलम्पिकमा बक्सिङलाई समावेश गर्न ओलम्पिक कमिटीको सिफारिस

चैत्र ५, २०८१ |खेल ब्युरो
लस एन्जलस ओलम्पिकमा बक्सिङलाई समावेश गर्न ओलम्पिक कमिटीको सिफारिस

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको कार्यकारी बोर्डले २०२८ लस एन्जलस ग्रीष्मकालीन ओलम्पिकमा बक्सिङलाई समावेश गर्न सिफारिस गरेको छ । यससँगै बक्सिङ खेलको ओलम्पिक भविष्यबारे लामो अन्योल अन्त्य भएकाे छ ।

गत महिना, आईओसीले वर्ल्ड बक्सिङलाई अस्थायी मान्यता दिएको थियो । जसले २०२८ ओलम्पिकमा बक्सिङलाई समावेश गर्न महत्त्वपूर्ण मार्ग खुल्ला गरेको थियो । यो सिफारिस अब यस हप्ता ग्रीसमा हुने आईओसी सत्रमा मतदानका लागि पेश गरिनेछ र सजिलै पारित हुने अपेक्षा गरिएको छ ।

पेरिस २०२४ ओलम्पिकमा बक्सिङ प्रतियोगिता आईओसी आफैंले सञ्चालन गरेको थियो । २०२३ मा अन्तर्राष्ट्रिय बक्सिङ संघलाई प्रशासनिक र वित्तीय सुधार नगरेको भन्दै मान्यता खोसिएको थियो ।

आईओसीले सुरूमा लस एन्जलस ओलम्पिक २०२८ बाट बक्सिङलाई हटाएको थियो । साथै नयाँ अन्तर्राष्ट्रिय बक्सिङ संस्था गठन गर्न सुझाव दिएको थियो । २०२३ मा गठन भएको वर्ल्ड बक्सिङले हाल ८० भन्दा बढी राष्ट्रिय संघहरूको सदस्यता पाएको छ ।

आईओसीका अनुसार, २०२८ ओलम्पिक छनोट प्रतियोगिता सुरू हुँदासम्म वर्ल्ड बक्सिङका सदस्य रहने संघहरूका खेलाडीहरू मात्र लस एन्जलस ओलम्पिकमा प्रतिस्पर्धा गर्न योग्य हुनेछन् । 

आईओसीले २०१९ मा रूसी व्यापारी उमर क्रेमलेवद्वारा सञ्चालित अन्तर्राष्ट्रिय बक्सिङ संघलाई प्रशासन, वित्त, रेफरिङ र नैतिकतासम्बन्धी समस्याहरूका कारण निलम्बन गरेको थियो ।



Enter Kantipur TV HD
Advertisement