चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन अर्थात् स्ववियु निर्वाचनमा ६५ प्रतिशत मतदान भएको छ । धेरैजसो क्याम्पसका मतपरिणाम पनि आइसकेका छन् ।
प्रत्येक दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन १४ वर्षदेखि नियमित हुनसकेको थिएन । त्रिविका ६२ वटा आंगिक क्याम्पसमध्ये एक दर्जन क्याम्पसमा विद्यार्थी संगठनहरूको तालाबन्दी गरेकाले स्ववियु निर्वाचन नै हुन सकेन । त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको असन्तुष्ट पक्षले नै तालाबन्दी गरेको छ । उपत्यकाभित्रका विभिन्न ६ वटा आंगिक क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका छन् ।
निर्वाचनको मिति घोषणा गर्दै गर्दा विद्यार्थी संगठनहरूको साझा प्रतिबद्धता थियो, चैत ५ गतेको स्ववियु निर्वाचन सहज, निर्वाध र बिनाअवरोध सम्पन्न गर्ने छौं । तर, यसपटक पनि तालाबन्दी, तोडफोड र निर्वाचन बिथोल्ने गतिविधिले स्ववियु निर्वाचनको पर्याय झैं बन्यो । आफ्ना घोषणापत्रमा विश्वविद्यालय र क्याम्पसहरूमा कहिल्यै तालाबन्दी नगर्ने प्रतिबद्धता जनाएका विद्यार्थी संगठनहरूले आफू कमजोर वा पराजित हुने अवस्था देखेका क्याम्पसहरूमा तालाबन्दी गरे ।
आज उदीयमान ठूला राजनीतिक दलका नेताहरू समेत तिनै विद्यार्थी आन्दोलनका उपज हुन् । राणा शासनविरुद्ध विद्यार्थीले गरेको जयतु संस्कृतम् आन्दोलनदेखि ०३६ सालको जनमतसंग्रह, ०४६ सालको जनआन्दोलन, ६२/६३ सालको जनआन्दोलन जस्ता सबै आन्दोलनमा विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो ।
स्ववियु निर्वाचनमा सधैं किन हुन्छ हुलहुज्जत, तालाबन्धी र अवरोध ? कलम चल्ने ठाउँमा तरबारको डर किन ? के स्ववियुले नाम अनुसार स्वतन्त्र अस्तित्व जोगाउन सकेका छन् ? के स्ववियु दलहरूको भ्रातृ संगठनका रूपमा रूपान्तरण भएका हुन् ? क्याम्पसमा पढ्न जाने कि राजनीतिका लागि ? विद्यार्थीहरु क्याम्पसमा पाइलै नटेकी विदेशिँदा स्ववियुका शैक्षिक अजेन्डा के हो ? किन गुमायो स्ववियुले आफ्नो लय ? के अझै स्ववियुको औचित्य छ ?
सरोकारको आजको अंकमा हामी स्ववियु निर्वाचन केन्द्रित रहेर विषयमा बहस गर्दै छौं । स्टुडियोमा निम्त्याएका छौं- नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य एवं पद्मकन्या बहुमुखी क्याम्पसकी पूर्व सभापति प्रतिमा गौतम, नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडाल र, विद्यार्थी नेता यतिष ओझा ।
हेर्नुहोस् कार्यक्रम सरोकार :