काठमाडौं । अपराध र अवैध धन्दाबाट आर्जित रकम र त्यसमा संलग्नलाई कारबाही नगरेको भन्दै मुलुक सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परेको छ । तैपनि तस्करी रोकिएको छैन । मंगलबार २५ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा चीनतर्फ लैजान लागेको अवस्थामा एक ट्रक चालक पक्राउ परेका छन् ।
८ वर्षअघि ७ किलो सुनसहित पक्राउ परेका व्यक्तिले निर्धक्कसँग त्यति ठूलो रकम को मार्फत, कहाँ पुर्याउँदै थिए खुलेको छैन । उक्त मुद्रा सुनकै भुक्तानी हुन सक्ने आशंका गरेको प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
४४ वर्षीय कुसाङ लामा प्रहरी हिरासतमा पुगेको यो दोस्रो पटक हो । २०७३ पुसमा चीनबाट रसुवाकै नाका हुँदै ७ किलो सुन लिएर आउँदा पक्राउ परेका उनी ५ वर्ष जेल सजाय भुक्तान गरिसकेका पात्र हुन् । तिनै व्यक्तिलाई तस्करले यति ठूलो रकमको जिम्मा लगाउनु स्वाभाविक नभएको प्रहरीको निष्कर्ष छ । गत वर्ष ६० किलो सुन तस्करीबारे अनुसन्धान सुरु गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३७ क्विन्टल सुन नेपाल भित्रिएको निष्कर्ष निकाल्यो । त्यति ठूलो परिमाणको सुनको पैसा कहाँबाट कसरी भुक्तानी भयो भन्ने कतै खुलेन ।
सीआईबीले अधिकांश रकम क्रिप्टोकरेन्सीबाट बाहिर गएको खुलाएको छ । तर मंगलबार काठमाडौंको टोखामा एक ट्रक चालक १३ लाख ७५ हजार युरो र ४ लाख २० हजार अमेरिकी डलर बोकेर रसुवातर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेपछि प्रहरीलाई फेरि झस्काएको छ ।
कुसाङलाई बुधबार थप कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा बुझाइएको छ । यता उपत्यका अपराध अनुसन्धान कार्यालय भने एक साथ २५ करोड १९ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा कसरी सटही भयो भन्नेबारे खोज्नु पर्ने बताउँछ ।
आमाको नाममा ट्रक किनेका कुसाङ नेपालबाट सुन तस्करी गर्ने पुरानै गिरोहसँग सम्बन्धित हुन सक्ने आशंका प्रहरीको छ । २०७२ को भूकम्पपछि चीनबाट आउने सुन बोक्ने रुट रसुवातर्फ सरेको थियो । करिब १८ लाख विदेशी मुद्रा संकलन नै त्यति सजिलो नहुने भएकाले सुनको भुक्तानी गर्ने समूहतर्फ अनुसन्धान केन्द्रित हुने एसएसपी रमेश बस्नेत बताउनुहुन्छ ।
६० किलो सुन तस्करी प्रकरणमा ९ चिनियाँ नागरिक पक्राउ परेका थिए । उक्त समूहले एक अर्ब रुपैयाँ क्रिप्टोबाटै भुक्तानी गरेको निष्कर्ष प्रहरीले निकाल्यो । अदालतमा दायर भएको मुद्दामा मात्रै ३६२ किलो सुनको ३ अर्ब ५० करोड ३० लाख ९१ हजार बिगो मागदाबी गरिएको छ ।
यता २५ करोड बराबरको विदेशी मुद्रा नगदै बरामद हुँदा पनि प्रहरी मालिकसम्म पुग्न सकेको छैन । पक्राउ परेका कुसाङले विभिन्न स्थानमा संकलन भएको रकम आफूले रसुवाको केरुङसम्म पुर्याउने जिम्मा पाएको बयान दिएका छन् ।
मंगलबार बरामद भएको रकमले अपराधबाट आर्जित सम्पत्ति व्यवस्थापन कसरी भइरहेको छ भन्ने देखाएको छ, जुन सम्पत्ति शुद्धीकरणसँग जोडिने सबैभन्दा संवेदनशील विषय हो । राष्ट्र बैंकको अनुमतिमा मात्रै वैदेशिक मुद्रा सटही र प्रयोग गर्न पाइन्छ । तर यसरी सहज रुपमा वैदेशिक मुद्रा सटही गरेर तस्करी भइरहेका घटनाको गहिराईमा पुगेर अनुसन्धान गर्नैपर्छ ।