काठमाडौं । युएफा महिला च्यम्पियन्स लिग अन्तर्गत क्वाटर फाइनलको पहिलो लेगमा स्पेनिस टोली रियाल मड्रिडले इंग्लिस क्लब आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा रियालले सानदार प्रदर्शन गरेसँगै दोस्रो लेग अघि २-० को अग्रता बनाएको छ । आर्सनलले यसअघि सबै प्रतियोगितामा लगातार पाँच खेल जितेको थियो, जुन उनीहरूको सबैभन्दा लामो जितको श्रृंखला थियो ।
यसअघि रियालले कुनै पनि इंग्लिस क्लबविरुद्ध जित हात पार्न सकेको थिएन । उसले चेल्सीविरुद्धनै खेलेका ४ खेलमा हार बेहोरेको थियो भने २ खेल बराबरीमा सकिएका थिए । तर खेलका दौरान मेलानी लोइपोल्ज घाइते भएपछि रियाललाई झड्का लागेको छ ।
लिन्डा काइसेडो र एथेनेया डेल कास्टिलोले गोल गरेपछि गनर्सलाई झट्का लागेको हो । आर्सनलले राम्रो सुरुवात गरेपनि गोल गर्न सकेन । सुरुवातमै एलेसिया रुस्सोले स्टिना ब्लाकस्टेनियसलाई उत्कृष्ट पास दिएकी थिइन् । उनले डिफेन्डरलाई उछिन्दै प्रहार गरेपनि रियालकी गोलकिपर मिसाले उत्कृष्ट बचाउ गरिन् ।
खेलको २२औं मिनेटमा रियालले सुरुवाती अग्रता बनायो । लिया विलियम्सनको गल्ती गरेपछि काइसेडोले बल नियन्त्रणमा लिइन् र मनुएला जिन्सबर्गलाई बिच गर्दै गोल गरिन् ।
पहिलो हाफको अन्त्यतिर बेथ मिडलाई आर्सनलका लागि बराबरी गोल फर्काउने अवसर थियो । तर उनको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । दोश्रो हाफमा आर्सनलले रियाललाई केही दवाबमा राखेपपनि गोल गर्न सकेन । रियालले बलियो प्रतिरक्षा गर्दै काउन्टर अट्याकमा ध्यान केन्द्रीत गर्यो ।
कैरोलीन वीयरको प्रयास जिन्सबर्गरले बचाएपछि आर्सनल अर्को गोल बेहोर्नबाट जोगिएको थियो । रियालले ८२औं मिनेटमा दमेस्रो गोल थप्यो । डेल कास्टिलोले आर्सनलका डिफेन्डरलाई पछि पार्दै बक्स भित्र छिर्ने मौका पाइन् र सहजै गोल गरिन् ।
आर्सनलले खेलको अन्त्यसम्म गोल फर्काउने प्रयास गरिरहृयो । तर लिआ वाल्टी, विलियम्सन र किम लिटलका प्रहारहरू सफल हुन सकेनन् ।
यससँगै रियाल दोस्रो लेग अघि २-० को अग्रता बनाउन सफल भयो । दुई टोली बीचको खेल आगामी बुधबार खेलिने छ । यस्तै अर्को खेलमा लियोनले बार्यन म्युनिखलाई २-० ले पराजित गर्यो ।