सिरहा । सिरहामा भारतीय नागरिकलाई नागरिकता दिलाउन नक्कली बुवा बन्ने व्यक्ति पक्राउ परेका छन । नरहा गाउँपालिका-३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
मियाँलाई मंगलबार साँझ घरबाटै पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । सिरहा जिल्ला अदालतबाट बुधबार म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरु हुने उनले बताए ।
नरहा गाउँपालिका-३ को वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय, सिरहाले भारतीय नागरिक मोसताक मियाँलाई २०८० असार २६ मा नेपाली नागरिकता दिएको थियो । अमानत मियाँ र उनकी पत्नी रजिना खातुन नक्कली बुबाआमा बनेका थिए ।
नागरिकताका लागि वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डलले सिफारिस दिएका थिए । वडाध्यक्ष, सचिव र जिल्ला प्रशासनका कर्मचारीले २ लाख भारु घुस लिएर नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयसम्म उजुरी परेको छ ।
तर, अहिलेसम्म यस विषयमा कुनै कारवाही नभएको तथ्यसहित कान्तिपुरले समाचार सार्वजनिक गरेपछि यो विषय संसदमा पनि उठेको थियो । सांसद राजकिशोर यादवले वडाध्यक्ष सत्तारुढ एमालेका भएकाले उनलाई संरक्षण गरिएको भन्दै आपत्ति जनाएका थिए ।