जुम्ला । जुम्ला बहुमुखी क्याम्पस जुम्लाको स्ववियु निर्वाचनमा अनेरास्ववियूका लोकेन्द्र बुढा निर्वाचित हुनुभएकाे छ । कुल ३३४ मत रहेको जुम्ला बहुमुखी क्याम्पसमा ३१८ मत खसेको थियो । जसमा ११४ मत प्राप्त गर्दै बुढा सभापतिमा निर्वाचित हुनुभएकाे हाे ।
उहाँका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका जयकृष्ण जैशीले १०९ मत प्राप्त गर्नुभयो । जैशीले गत निर्वाचनमा सचिवमा जित्नुभएको थियो । अर्का प्रतिस्पर्धी नेपाल विद्यार्थीसंघका सभापतिका उम्मेदवार खेमराज आचार्यले ८८ मत प्राप्त गर्नुभएको छ ।
एकीकृत समाजबादी निकट विद्यार्थीले संगठनका लक्ष्मण सुनारले ४ मत मात्र प्राप्त गर्नुभएको छ । बिजेता बुढाले अखिल क्रान्तिकारीका जैशीलाई ९ मतले पछि पार्नुभएको हो ।
गत निर्वाचनमा झिनो मतले पराजित भएका बुढाले दोस्रो प्रयासमा सभापतिमा विजय हुनुभएकाे हाे । निर्वाचन समितिकाअनुसार सचिवमा नेपाल विद्यार्थी संघका दत्तराज रावत विजय हुनुभएकाे हाे ।
उहाँले ९४ मत प्राप्त गर्नुभएको हो । उहाँका प्रतिद्वन्द्वी अनेरास्ववियुका नबराज भण्डारीले ८६ प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा अनेरास्ववियूकै बीन बहादुर रावत विजयी हुनुभएकाे छ । रावतले १०७ मत प्राप्त गर्नुभयाे ।
नेपाल विद्यार्थी संघका सरला उपाध्यायले ९८ मत प्राप्त गर्नुभयाे । स्ववियु निर्वाचनमा सभापतिमा ४ जना,सचिवमा ५ जना,कोषाध्यक्षमा ३ जना र १५ जनाले मनोनयन गरेका थिए ।
जुम्ला बहुमुखी क्याम्पसका प्रमुख प्रकाशचन्द्र खत्रीले स्ववियु निर्वाचन स्वच्छ,निष्पक्ष र शान्तिपुर्ण रुपमा सकिएको बताउनुभयाे ।