प्रधानमन्त्री कप क्रिकेट : मधेश र गण्डकी प्रदेश विजयी

फाल्गुन २७, २०८१ |खेल ब्युरो
प्रधानमन्त्री कप क्रिकेट : मधेश र गण्डकी प्रदेश विजयी

काठमाडौं । मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा विजयी सुरुआत गरेको छ। सिद्धार्थनगर रंगशालामा भएको खेलमा मधेशले कोशी प्रदेशलाई १६५ रनले पराजित गरेको हो । मधेशको जितमा पवन सर्राफले सर्वाधिक ९२ रन प्रहार गरे ।

टस जितेर पहिले ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८४ रन बनाएको हो । यो जारी प्रधानमन्त्री कपमा बनेको सर्वाधिक रन समेत हो। ओपनर अनिल शाहले ७५ रन बनाएर मधेशका लागि ठूलो स्कोरमा पुग्ने संकेत दिएका थिए । उनलाई ओपनिङमा मयन यादवले साथ नदिए पनि हरिशंकर शाहसँग ८७ रनको साझेदारी गरेका थिए । अनिलले ७५ बलमा १० चौका प्रहार गरेर ७५ रन बनाएका हुन् । हरिशंकरले २९ रन जोडे । 

पाँचौं नम्बरमा मैदान प्रवेश गरेका पवनले ८५ बलमा ११ चौका र दुई छक्काको सहयोगमा ९२ रनको इनिङ्स खेले । अन्तिममा दिपेश दासले ५६ रनको अविजित पारी खेलेर मधेशलाई ठूलो स्कोरमा पुर्‍याएका हुन् ।

मधेश विरुद्ध कोशीका विपिन महतो र प्रकाश कार्कीले समान २-२ विकेट आफ्नो नाममा गरेका थिए । तर उनीहरूले विपक्षी टोली विरुद्ध किफायती प्रदर्शन गर्न सकेनन् ।

जवाफमा कोशीको ब्याटिङ चल्न सकेन । ओपनरद्वय चिराग र अंकित सुवेदी शून्यमा आउट भए । शकिब हकले सर्वाधिक २५ रनको योगदान गरे । सुजन थपलियाले २४, फिर्दोष अन्सारीले २१ र दिपेश कँडेलले २० रन थपे । बाँकी खेलाडीको प्रदर्शन निराशाजनक हुँदा कोशी ११९ रनमा अलआउट भयो । मधेशलाई फराकिलो जित दिलाउन रूपेश सिंहले ५ विकेट लिए भने राजेश यादवले ३ विकेट आफ्नो नाममा गरेका थिए । 

आजको जितसँगै मधेशले दुई अंक जोडेको छ भने कोशी दुई खेलसम्म पनि जितविहीन छ ।

यस्तै आजै भएको अर्को खेलमा गण्डकी प्रदेशले कर्णालीलाई ४ विकेटले हरायो । दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा ९२ रनको लक्ष्य गण्डकीले २९ ओभर एक बलमा पूरा गरेर जित निकालेको हो ।

गण्डकीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको कर्णाली २७ ओभरमा २ बलमा ९१ रन मात्रै बनाएर अलआउट भएको थियो। कर्णालीका कुनै पनि खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । विपिन रावल र विपिन शाहीले २७ रनको साझेदारी गरे । रावलले १५ तथा शाहीले २० रनको योगदान गरे । त्यसैगरी अर्जुन घर्तीको नाममा १५ रन रह्यो ।

बलिङमा किफायती र धारिलो प्रदर्शन गरेको गण्डकीले कर्णालीलाई लो स्कोरमा रोकेको हो । गण्डकीका पाँचै खेलाडीले विकेट लिए। चन्द्र पौडेल, सुवास भण्डारी र विपिन खत्रीले समान २-२ विकेट आफ्नो नाममा गरेका थिए । सन्दीप पराजुली र अमृत गुरुङले एक-एक विकेट लिए ।

जवाफमा गण्डकीले ३० औं ओभरमा ६ विकेट क्षतिमा लक्ष्य पूरा गर्यो । तर उसले पनि राम्रो सुरुआत गर्न सकेन । समीर कँडेल शून्य, अर्जुन कुमाल र वनस क्षेत्री समान ६-६ रनमा आउट भए । तीन विकेट गुमाउँदा गण्डकीले १३ रन बनाएको थियो भने ६ विकेट गुमाउँदा २२ रन मात्रै बनाएर कमजोर अवस्थामा थियो ।

तर चौथो नम्बरका दीपक डुम्रेले ५० रनको योगदान गरेसँगै गण्डकी जितसम्म पुगेको हो । उनले अन्तिममा सुजन गौतमसँग ७३ रनको साझेदारी गरेका थिए ।

कर्णालीका दिवन पुनले तीन विकेट लिएको भए पनि उनले सातौं विकेटको लागि बनेको लामो साझेदारी तोड्न सकेनन् । जारी प्रतियोगितामा कर्णालीको पहिलो हार हो भने गण्डकीको पहिलो जित हो । यी दुवै टिमले दुई खेलबाट समान २-२ अंक बनाएका छन् ।

प्रतियोगितामा भोलि २ खेल हुनेछन् । सुदूरपश्चिमले आर्मी क्लबको सामना गर्दा पुलिसले कोशीसँग खेल्नेछ ।



Enter Kantipur TV HD
Advertisement