काठमाडौं । नेपाली कबड्डी टोलीले एकपछि अर्को अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफलता हात पार्दै आएको छ । दुई दिनअघि इरानमा सम्पन्न छैटौं कबड्डी एसियन कपमा समेत महिला कबड्डी टोलीले कास्य पदक हात पार्यो । यही टोली आगामी जुन महिनामा भारतको पटनामा हुने दोस्रो महिला कबड्डी विश्वकपको तयारीमा छ । तर यही कबड्डी खेलको पूर्वाधार विकासमा भने सरकारले अहिलेसम्म खासै ध्यान दिएको छैन ।
इरानमा सम्पन्न छैटौं कबड्डी एसियन कपमा कास्य पदक हात पारेर सोमबार स्वदेश फर्किएको टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले नियम अनुसार नगद परस्कार दिने घोषणा गरे । तर, महिला कबड्डी टिममा अझै लगानी हुन नसकेको उनको स्वीकारोक्ति थियो । कबड्डीमा सरकारले लगानी गर्ने हो भने भारतमा हुने दोस्रो महिला कबड्डी विश्वकपमा पनि नेपालको पदक सम्भावना रहेको घिसिङको भनाइ छ ।
इरानको एसियन कप प्रतियोगिताले खेलाडीलाई राम्रो आत्मबल दियो । यो अन्तर्राष्ट्रिय म्याच एक्सपोजरले उनीहरूको क्षमता मापन मात्र गरेन, थप अब्बल पनि बनाएको छ । अब सरकारले आवश्यक पूर्वाधार सहितको प्रशिक्षणको व्यवस्था गरिदिए महिला विश्वकपमा राम्रो प्रदर्शन गर्ने खेलाडीको विश्वास छ ।
तर, एसियन कप निकै चुनौतीपूर्ण भए पनि खेलाडीले राम्रो प्रदर्शन गरेको र आगामी खेलमा अझै धेरै मिहिनेतको खाँचो रहेको प्रशिक्षकको बुझाइ छ ।
पछिल्लो समय जसरी सरकार र निजी कम्पनीहरूले कबड्डीलाई साथ दिइरहेका छन्, यो क्रम निरन्तर रह्यो भने विश्वकपमा समेत नेपालले पदक हात पार्नसक्ने विश्वास कबड्डी संघको छ ।
खेलकुद परिषद्ले २०औं एसियाली खेलकुदलाई मध्यनजर गरेर पदकको सम्भावना भएका कबड्डी जस्ता खेलमा प्रशिक्षणलाई निरन्तरता दिइरहेको छ । तर, कबड्डीको आफ्नै पूर्वाधार नहुँदा खेलाडी तथा प्रशिक्षकले समस्या बेहोर्नुपरेको छ । त्यसैले खेलाडीलाई थप सुविधाका साथ उचित प्रशिक्षण दिनसके कबड्डी विश्वकपमा समेत पदक हात पार्ने सम्भावना झनै बलियो हुने थियो ।