काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज अस्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । अस्ट्रेलियाले यो प्रतियोगितामा दुबइमा पहिलो खेल खेल्दैछ । भारतले पाकिस्तान जान अस्वीकार गरेपछि आफ्ना सबै खेल दुबइमा खेलेको हो । प्रिम्याच प्रेस कनफरेन्समा बोल्दै भारतीय कप्तान रोहित शर्माले सबै खेल एकै स्थान दुबइमा खेल्न पाएर अनुचित लाभ प्राप्त भइरहेको भन्ने आरोपको खन्डन गरेका छन् ।
भारतलाई सबै खेल दुबइमा खेल्न दिएकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को आलोचना समेत भइरहेको छ । आईसीसीका हालका अध्यक्ष जय शाह हुन् । सहभागी अन्य टिमले यात्राको समस्या भोगिरहँदा भारतले भने एकै स्थानमा खेल्ने सुविधा पाएको छ । यसबारे रोहितले दुबइ भारतको घरेलु मैदान नभएको र दुबइको पिचले फरक व्यवहार गर्ने प्रतिक्रिया दिएका थिए ।
अस्ट्रेलियन कप्तान स्टिभन स्मिथले आफ्ना खेलाडीले दुबइको माहौलमा एडजस्ट गर्ने विश्वास व्यक्त गरे । यो खेलमा स्पिनर हाबी हुने उनको बुझाइ छ । जुन टिमले स्पिनलाई सही सदुपयोग गर्न सक्छ उसले खेल जित्ने स्मिथले बताएका छन् ।
भारत विश्वकपमा बेहोरेको हारको बदला लिने दाउमा छ । गत वर्ष अस्ट्रेलियाले विश्वकप फाइनलमा भारतलाई उसकै मैदानमा स्तब्ध पारेको थियो । सन् २०११ यता यी दुई टिमबीच ५० ओभरको प्रतिस्पर्धामा चार पटक भेट भएको छ । जसमा दुईमा भारत र दुईमा अस्ट्रेलिया विजयी भएका छन् ।
भारतले दुई खेल विश्वकपको राउन्ड रोविन लिगमा जित्दा अस्ट्रेलिया सेमिफाइनल र फाइनलमा विजयी भएको थियो । जारी प्रतियोगितामा भारत अपराजित टिम हो ।