काठमाडौं । ह्वाइट हाउसमा भएको चर्काचर्कीपछि तिक्त बन्न पुगेको अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको सम्बन्धमा सुधारको संकेत देखिएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ह्वाइट हाउसमा जे भयो त्यो पश्चात्तापयोग्य भन्दै मंगलबार सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको केही घण्टापछि अमेरिकी राष्ट्रपति ट्रम्प सकारात्मक देखिनुभएको हो ।
ट्रम्पले जेलेन्स्कीले पठाएको पत्र प्राप्त भएको र त्यसका लागि जेलेन्स्कीको प्रशंसा गर्दछु भनेपछि सम्बन्धमा सुधारको संकेत देखिएको हो । मंगलबार संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले जेलेन्स्कीले पठाएको भनिएको पत्र पढेर सुनाउनु भएको थियो । पत्रमा जेलेन्स्कीले आफू र आफ्नो टोली राष्ट्रपति ट्रम्पको बलियो नेतृत्वमा दिगो शान्तिका लागि काम गर्न तयार रहेको बताउनुभएको छ । उहाँले रूससँग यथासम्भव चाँडो शान्तिवार्ता थाल्न तयार रहेको समेत उल्लेख गर्नुभएको छ ।
ट्रम्पले संसद्मा वाचन गरेको पत्रको व्यहोरा र जेलेन्स्कीले मंगलबार एक्समा गरेको पोस्टमा उल्लेखित व्यहोरा उस्तै छन् । आफ्नो पोस्टमा जेलेन्स्कीले युक्रेनको सार्वभौमसत्ता र स्वतन्त्रता जोगाउन अमेरिकाले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । उहाँले अमेरिकासँग खनिज र सुरक्षा सम्झौतामा जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको समेत उल्लेख गर्नुभएको छ । ह्वाइट हाउसमा भएको विवादपछि दुई देशबीच खनिज सम्झौता हुन सकेको थिएन ।
संसद्को संयुक्त सत्रलाई गरेको सम्बोधनमा ट्रम्पले युक्रेन यथासक्य चाँडो शान्तिवार्ता थाल्न र रूस पनि सम्झौताका लागि तयार रहेको बलियो संकेत प्राप्त भएको बताउनुभएको थियो । रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले पनि ट्रम्पको भनाईप्रति सकारात्मक प्रतिक्रिया जनाएको छ ।
यसअघि सोमबार मात्रै अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको थियो भने बुधबार गुप्तचरी सूचना आदानप्रदान पनि रोकेको जनाएको छ ।
यसैबीच बेलायती प्रधानमन्त्री केइर स्टार्मर र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रों युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई पनि साथमा लिएर सम्भावित शान्ति योजना प्रस्तुत गर्न वासिङ्टन जाने तयारीमा रहेको बेलायती पत्रिका डेली मेलले जनाएको छ । उहाँहरू आगामी साता ट्रम्पसँग भेट्न ह्वाइट हाउस पुग्न सक्ने जनाइएको छ । बेलायती रक्षामन्त्री भने आफ्ना अमेरिकी समकक्षीसँग भेट्न भोलि नै वासिङ्टन जाँदै हुनुहुन्छ ।
उता अमेरिकासँग यूरोप र युक्रेनको सम्बन्ध बिग्रिन नदिन प्रयासरत बेलायती प्रधानमन्त्री स्टार्मरले गत बिहीबार ट्रम्पलाई ह्वाइट हाउसमा भेटेयता तीन पटक टेलिफोनमा कुरा गरेको जानकारी दिनुभएको छ ।