काठमाडौं । भारत, अष्ट्रेलियालाई चार विकेटले पराजित गर्दै आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल प्रवेश गरेको छ ।
भारतको जितमा विराट कोहलीले उत्कृष्ट इनिङस खेले । भारतको जितसँगै फाइनल खेल पाकिस्तानमा नभएर दुबइमा हुने निश्चित भएको छ ।
दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभर ३ बलमा २ सय ६४ रनमा अल आउट भयो । ओपनर कुपर कोनोलीलाई मोहम्मद सामीले खाता खोल्न दिएनन् ।
भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने परिचय बनाएका ट्राभिस हेड ठुलो स्कोरतर्फ अघि बढ्ने संकेत गरेका थिए । उनलाई वरुण चक्रवर्तीले पभेलियन फर्काए । ३९ रन बनाएका हेडको क्याच शुभमन गिलले लिएका थिए । मार्नस लावुसेनले २९ रन जोडे । जोस इंग्लिस ११ रनमा मैदान बाहिए । एक समय अस्ट्रेलिया १ सय ९८ रन चार विकेटको बलियो स्थितिमा थियो । तर कप्तान स्टिभन स्मिथलाई सामीले आउट गर्दै भारतलाइ खेलमा फर्काए ।
स्मिथले सर्वाधिक ७३ रन जोडे । ग्लेन म्यासवेलले ७ र बेन डरस्विसले १९ रन बनाए । एलेक्स क्यारीले ६१ रन जोडेपछि खेल प्रतिस्पर्धात्मक बनेको थियो । सामी सबैभन्दा किफायती सावित भए । उनले दश ओभरमा ४८ रन खर्चिएर तीन विकेट लिए । वरुण र रविन्द्र जडेजाले दुई दुई विकेट बाँडे । जवाफमा भारतको सुरुवात राम्रो हुन सकेन् । गिल ११ र रोहित शर्मा २८ रनमा आउट भएका थिए । तर कोहली र श्रेयस ऐअरले इनिङस सम्हाले । श्रेयसले ४५ रन जोडे । अक्सर पटेलले २७ रन थपे । कोहलीले ९८ बलमा ८४ रनको महत्वपुर्ण इनिङस खेले । उनले पाँच चौका प्रहार गरेका थिए ।
हार्दिक पान्डेयाले २८ रन जोड्दा केएल राहुल ४५ रनमा अविजीत रहे । नाथन एलिस र एडम जाम्पाले दुई दुई विकेट लिए । योसंगै भारतले ओडिआइ विश्वकप फाइनलमा बेहोरेको हारको बदला पनि लियो । अब उपाधिका लागि न्युजिल्यान्ड र दक्षिण अफ्रिका बीचको विजेतासंग खेल्नेछ । यी दुई बीचको सेमीफाइनल पाकिस्तानको लाहोरमा नेपाली समय अनुसार आज दिउँसो पौने ३ बजे हुनेछ ।