काठमाडौं । कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि नमुना ब्लास्टरले जितेको छ । आज सम्पन्न फाइनलमा भोक्राहा नरसिंह अर्नाजलाई ३७ रनले पराजित गर्दै नमुना ब्लास्टर च्यम्पियन बनेको हो ।
डाक्टर खलिल आजाद खेल मैदानमा अर्नाजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नमुनाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०७ तयार पारेको थियो । जुन प्रतियोगिताकै उच्च स्कोर हो, उसका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको आक्रामक अर्धशतकीय इनिङस खेले । दीपेन्द्रले ७८ रनको शानदार इनिङ्स खेले । ३४ बलको सामना गरेका उनले ८ छक्का र ५ चौका प्रहार गरे । ३४ बलको सामना गरेका कुशलले ३ छक्का र ५ चौकाको मद्दतमा ५३ रन बनाए । उनी विपिनकुमार महतोको बलमा आउट भएका थिए ।
कुशल मल्लले २२ बलमा अविजित ४३ रनको उत्कृष्ट इनिङ खेले । सन्दीप ढुंगानाले ३ र भुवन कार्कीले २ विकेट हात पारे ।
२०८ रनको विजयी लक्ष्य सहित जवाफी ब्याटिङ गरेको अर्नाजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७१ रन मात्र बनाउन सक्यो । उसका लागि सुजन थपलियाले ३३ र रोहन शाहले ३० रन बनाए । नमुनाका इशान पाण्डेले ३ र कुशल मल्लले २ विकेट लिए । उपाधि विजेता नमुना ब्लास्टरले ५ लाख ५ हजार र उपविजेता भोक्राहाले ३ लाख ३ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी अर्नाजका सन्दीप ढुंगानाले २५ हजार रुपैयाँ पाए । भुवन थापा उदीयमान खेलाडी घोषित भए ।