स्टुटगार्टमाथि पुनरागमन जित निकाल्दै बायर्न म्युनिख बुन्डेसलिगाको उपाधितर्फ अघि बढ्दै

फाल्गुन १७, २०८१ |खेल ब्युरो
स्टुटगार्टमाथि पुनरागमन जित निकाल्दै बायर्न म्युनिख बुन्डेसलिगाको उपाधितर्फ अघि बढ्दै

काठमाडौं । बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले स्टुटगार्टलाई ३-१ गोलले पराजित गरेको छ । बायर्न १-० गोलले पछि परेको स्थितिबाट खेलमा फर्किएको थियो ।

भिन्सेन्ट कोम्पनीको टिमले ३४ औं मिनेटमा गोल खाएको थियो । बायर्नका पूर्व खेलाडी एंगेलो स्टिलरले , बायर्नका लियोरी सानेले गुमाएको बलमा गोल गरेपछि घरेलु टिम स्टुटगार्ट १-० को अग्रता लिन सफल भयो । तर बायर्नले ब्रेक अघि नै पुनरागमन गर्दै खेल बराबरी गर्‍यो । 

४५औं मिनेटमा सानेले आफ्नो गल्ति सुधार गर्दै मिचेल ओलिसेको गोलका लागि सेटअप गरे । योसँगै पहिलो हाफ एक एकको बाराबरीमा सकियो । ६४ औं मिनेटमा लियोन गोरेट्ज्काले गोल गर्दै बायर्नलाई खेलमा दुई एकले अघि बढाए ।

९० औं मिनेटमा किंस्ले कोमनले गोल गरेपछि बायर्न तीन अंक जोड्न सफल भयो । बायर्न २४ खेलबाट ६१ अंकका साथ पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको बायर लिभरकुसेनको २३ खेलबाट ५० अंक छ । लिभरकुसेनले आज फ्राङ्कर्फटसँग खेल्नेछ ।



Enter Kantipur TV HD
Advertisement