कांग्रेसमा ‘अनिश्चित महाधिवेशन’को औडाहा, नेताहरूको जिल्ला दौडाहा

फाल्गुन १७, २०८१ |प्रकाश बम
कांग्रेसमा ‘अनिश्चित महाधिवेशन’को औडाहा, नेताहरूको जिल्ला दौडाहा

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन कहिले हुन्छ भन्ने यकिन छैन । सभापति शेरबहादुर देउवा महाधिवेशन जति सकिन्छ पछि धकेल्ने योजनामा हुनुहुन्छ भने नेता शेखर कोइराला निर्धारित समय अर्थात् आगामी मंसीरमै गर्नुपर्ने दबाब दिइरहनुभएको छ । 

महाधिवेशनको टुंगो नलागे पनि नेताहरूको दौडधुप भने सुरू भइसकेको छ । भावी नेतृत्वका आकांक्षीहरू जिल्ला दौडाहामा छन् ।

नेपाली कांग्रेसमा जिल्ला दौडाहामा होमिनेमा अग्रपंक्तिमा हुनुहुन्छ– नेता शेखर कोइराला । १४ औं महाधिवेशनमा सभापतिमा पराजित कोइराला आगामी महाधिवेशनमा जसरी पनि नेतृत्वमा पुग्ने गरी जिल्ला-जिल्लामा पुगेर कार्यकर्तालाई फकाउन केन्द्रित हुनुहुन्छ । गृहजिल्ला मोरङदेखि सभापति शेरबहादुर देउवाको गृह प्रदेशसम्म पुगेर उहाँले महाधिवेशनको तयारी गरिरहनुभएको हो । 

त्यस्तै सभापतिका आकांक्षी समेत रहेका महामन्त्री गगन थापाले पनि जिल्ला दौडाहालाई तीव्रता दिनुभएको छ । फागुन ७ गते यता मात्रै १० जिल्ला पुगिसकेका थापाले आइतबारदेखि थप १० जिल्ला जाने कार्यतालिका बनाउनुभएको छ । महाधिवेशनलाई लक्षित गरेर नेताहरू कार्यतालिका नै बनाएर जिल्ला दौडाहामा लागेका हुन् ।

त्यसो त देउवा निकट नेताहरूले उत्तराधिकारी घोषणा गर्न सभापतिलाई दबाब समेत दिइरहेका छन् । तर देउवाले मुख नखोलेपछि नेताहरू आ–आफ्नै तरिकाले तयारी थालेका छन् । उपसभापति पूर्णबहादुर खड्का देउवाको उत्तराधिकारी बन्ने आकांक्षा सहित जिल्ला दौडाहामा हुनुहुन्छ । उहाँ फागुनभित्रै १४ जिल्ला पुगिसक्नुभएको छ । आन्तरिक मतभेद समाधान गर्न र संगठन निर्माणका लागि भन्दै पूर्वमहामन्त्री कृष्ण सिटौला १५ दिनभित्रै ८ जिल्लामा पुग्नुभएको छ । त्यस्तै नेताहरु शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द निधि, गोपालमान श्रेष्ठदेखि प्रकाशशरण महतसम्म कार्यकर्ता भेटघाट गरेर माहोल बुझ्न व्यस्त देखिनुभएको छ ।

पदाधिकारीका आकांक्षीहरूले पनि तयारी गरिरहेका छन् । सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार, डिना उपाध्याय, नेताहरू एनपी साउद, बालकृष्ण खाण, डिला संग्रौला लगायतका नेता पटक–पटक जिल्ला पुग्ने गरेका छन् । कांग्रेसभित्रको भावी समीकरण कस्तो बन्छ र कुन पदमा उम्मेदवारी दिने भन्ने टुंगो नलागे पनि नेताहरुको दौडधुप बढेको हो ।

दोस्रो पटक पार्टी नेतृत्व गरिरहेका सभापति देउवाको कार्यकाल आगामी मंसीरमा सकिँदै छ । अब देउवा सभापति नबन्ने भएकाले महाधिवेशनसम्ममा परम्परागत गुट भत्किने र नयाँ निर्माण हुँदै अर्को धुव्रीकरण हुने कतिपयको बुझाइ छ । यो अवस्थामा आफूलाई बलियो दाबेदारका रूपमा चिनाउन पनि अहिलेदेखि नै नेताहरूले गतिविधि बढाइरहेको विश्लेषण गरिएको छ ।

विधानत: कांग्रेसको १५ औं महाधिवेशन २०८२ साल मंसीरमा हुनुपर्छ । तर पार्टीले महाधिवेशनका लागि प्राविधिक र व्यवस्थापकीय तयारी समेत गरेको छैन । तर नेतृत्वका आकांक्षीले महाधिवेशन केन्द्रित गतिविधि बढाइरहेका हुन् ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement