काठमाडौं । अस्ट्रेलियाले, १६ वर्षपछि आइसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा स्थान बनाएको छ ।
अफगानिस्तानसँगको खेल वर्षाका कारण नजिताविहीन बनेपछि अस्ट्रेलिया जारी प्रतियोगिताको अन्तिम चारमा पुग्ने तेस्रो टिम बनेको हो ।
पाकिस्तानको लाहोरस्थित गद्धाफी स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्ताननले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनायो । ओपनर रामानुल्लाह गुरबाज, स्पेन्सर जनसनको बलमा शून्यमा पभेलियन फर्किए । अर्का ओपनर इब्राहिम जद्रानले २२ रन जोडे । रहमत साह १२ रनमा आउट भए । सदिकुल्लाह अतलले ८५ रनको योगदान गरे ।
कप्तान हस्मातुल्लाह साहिदीले २० रन बनाउँदा अज्मातुल्लाह ओमरजाइले ६७ रनको इनिङ्स खेलेका थिए । रासिद खानले १९ रन थपे । बेन डरस्विसले तीन, स्पेन्सर र एडम जाम्पाले दुई दुई विकेट लिए । जवाफमा अस्ट्रेलियाले १२ ओभर पाँच बलमा एक विकेट गुमाएर १ सय ९ रन बनायो । म्याथ्यु सर्ट २० रनमा ओमरजाइको बलमा मैदानबाट बाहिरिए ।
ट्राभिस हेड र कप्तान स्टिभन स्मिथले इनिङस सम्हालिरहेका थिए । हेड ५९ र स्मिथ १९ रनमा खेलिरहदा वर्षाका कारण रोकिएको खेल सुरु हुन सकेन । खेल नतिजाविहीन भएपछि अस्ट्रेलिया समूह बी बाट सेमिफाइनल पुग्न सफल भएको हो । अस्ट्रेलियाले सन २००९ मा उपाधि जितेपछि सेमिफाइनलमा स्थान बनाउन सकेको थिएन । अस्ट्रेलिया २०१३ र ०१७ मा एक खेल पनि नजित्दै समूह चरणबाट बाहिरिएको थियो । अब सेमीफाइनलमा एक स्थान बाँकी छ ।
अफगानिस्तानको पनि झिनो सम्भावना छ । दक्षिण अफ्रिका र इङल्यान्ड बीच आज हुने खेलबाट सेमिफाइनल समीरकण पूरा हुनेछ । दक्षिण अफ्रिकाले जित हात पारे समूह विजेता बन्नेछ । इङल्यान्ड प्रतियोगिताबाट बाहिरिइसकेको छ । इङल्यान्डले दक्षिण अफ्रिकामाथि फराकिलो अन्तरको जीत हात पारे अफगानिस्तानको सम्भावना रहनेछ ।
समूह ए बाट यसअघिनै भारत र न्युजिल्यान्ड अन्तिम चारमा पुगेका छन् ।