काठमाडौं । एएफसी एसियन कप छनोट २०२७ को तेस्रो चरण अन्तर्गत नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल मलेसिया सारिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुनः अयोग्य ठहर हुँदा नेपालले अर्को अन्तर्राष्ट्रिय ‘होम गेम’ देश बाहिर खेल्नुपर्ने भएको हो ।
यसअघि नेपालले मलेसियासँगको आफ्नो पहिलो खेल मार्च २५ मा दशरथ रंगशालमा खेल्ने तालिका सार्वजनिक गरिएको थियो । तर उक्त खेल नेपालमा नहुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस खेलबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाल र मलेसियाबीच खेल मलेसियाको जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा हुने उल्लेख गरेको छ ।
केही महिनाअघि एएफसीले प्रतिनिधिले दशरथ रंगशालाको निरीक्षण गरेका थिए । त्यसक्रममा मैदानको अवस्था खराब भएको प्रतिवेदन पेश गरिएको थियो । दशरथ रंगशालामा केही दिनअघि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप सम्पन्न भएको थियो भने केपी ओली कपका सेमिफाइनल सहितका खेलहरू पनि यहीँ हुँदैछन् ।