काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रिती राईलाई सर्वोत्कृष्ट महिला फुटबल खेलाडीका रूपमा सम्मान गरिएको छ । योङ स्टार फाउन्डेशनले आज एक कार्यक्रमबीच प्रितीलाई सम्मान गरेको हो ।
उनलाई सम्मान सहित नगद १ लाख रुपैयाँ प्रदान गरियो । प्रितीलाई योङ स्टार फाउन्डेशनका अध्यक्ष मोहनविक्रम सिंहले सम्मान पत्र र अवार्ड प्रदान गरेका हुन् ।
हालै सम्पन्न एन्फा महिला लिगमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा प्रितीलाई सम्मान गरिएको आयोजकले जनाएका छन् । फाउन्डेशनले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)सँगको सहकार्यमा सर्वोत्कृष्ट खेलाडी छनोट गरिएको थियो । सम्मानित भएपछि प्रितीले खुशी लागेको प्रतिक्रिया दिइन् ।
प्रितीले महिला लिगमा एपीएफलाई च्यम्पियन बनाउन उल्लेखनीय प्रदर्शन गरेकी थिइन् । सम्मान कार्यक्रममा राष्ट्रिय फुटबल टिमकी प्रथम कप्तान रमा सिंह लगायत फुटबलका पूर्वखेलाडीहरूको उपस्थिति थियो ।