तनावपूर्ण वार्ताका बावजूद अमेरिका आफ्नो रणनीतिक साझेदार रहेको जेलेन्स्कीको भनाइ

फाल्गुन १७, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
तनावपूर्ण वार्ताका बावजूद अमेरिका आफ्नो रणनीतिक साझेदार रहेको जेलेन्स्कीको भनाइ

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पसँगको तनावपूर्ण वार्ताका बावजूद अमेरिका आफ्नो रणनीतिक साझेदार रहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल एक्स मार्फत् जेलेन्स्कीले रूसी आक्रमणको तीन वर्षमा अमेरिकाले गरेको सहयोगको प्रशंसा गर्दै ट्रम्पलाई धन्यवाद पनि दिनुभएको छ। युद्ध अन्त्य गर्न ट्रम्पको समर्थन अत्यधिक आवश्यक रहेको जेलेन्स्कीको भनाइ छ । यस्तै उहाँले आफू बहुमूल्य खनिज सम्बन्धी सम्झौता गर्न तयार रहेको र उक्त सम्झौता युद्धविरामका लागि सुरक्षा ग्यारेन्टीतर्फ जाने पहिलो कदम हुने बताउनुभएको बीबीसीले जनाएको छ । 

जेलेन्सकीले बिनासुरक्षा ग्यारेन्टी रूससँगको संघर्ष अन्त्य गर्न खतरनाक हुने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभएको छ । यस्तै युक्रेनको अस्तित्वलाई जोगाउन अमेरिकाको अहम भूमिका रहेको पनि उहाँले स्पष्ट पार्नुभएको छ ।

अमेरिका भ्रमणपछि जेलेन्स्की बेलायत पुग्नुभएको छ । युरोपेली आयोगका नेताहरूसँग युक्रेन युद्ध अन्त्य गर्ने शिखर सम्मेलनमा सहभागी हुन जेलेन्स्की बेलायत पुग्नुभएको रोयटर्सले जनाएको छ ।

यस्तै बेलायती प्रधानमन्त्री केइर स्टार्मरसँग जेलेन्स्कीले भेटवार्ता गर्ने तालिका रहेको बताइएको छ ।



Enter Kantipur TV HD
Advertisement