साउदी प्रो लिगः अल नासार अल इत्तिफाकसँग पराजित

फाल्गुन १०, २०८१ |खेल ब्युरो
साउदी प्रो लिगः अल नासार अल इत्तिफाकसँग पराजित

काठमाडौं । साउदी प्रो लिगमा अल इत्तिफाकले, दश खेलाडीमा समेटिएको अल नासारलाई ३-२ गोलले पराजित गरेको छ ।

रियादमा गएराति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ४७औं मिनेटमा घरेलु टिम नासारका आयाम येहाले डेडलक तोडे । ५५ औं मिनेटमा इत्तिफाकका जर्जिनो विनाल्डमले गोल गरेपछि खेल एक एकको बराबरीमा पुग्यो ।

६५ औं मिनेटमा मोहम्मद अल फातिलले गोल गरेपछि नासार पुन खेलमा अग्रता बनाउन सफल भएको थियो । तर उनैले ८२ औं मिनेटमा आत्मघाती गोल गर्नु नासारका लागि महंगो सावित भयो । ८९ औं मिनेटमा विनाल्डमको गोलसंगै इत्तिफाकले तीन अंक जोड्यो । इन्जुरी समयमा नासार दश खेलाडीमा झरेको थियो । उसका जोन डुरान रातो कार्ड खादै मैदान बाहिरिएका हुन् ।

नासारले हारपछि तालिकाको तेस्रो स्थानमा उक्लने मौका गुमायो । चौंथो स्थानमा रहेको नासारको २१ खेलबाट ४४ अंक छ । २० खेल खेल्दै शीर्ष स्थानमा रहेको अल इत्तिहादको ५२ अंक छ । आठौं स्थानको इत्तिफाकको २८ अंक छ ।



Enter Kantipur TV HD
Advertisement