प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर हुने

फाल्गुन ९, २०८१ |खेल ब्युरो
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर हुने

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता काठमाडौं बाहिर आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आज खेल तालिका सार्वजनिक गरेर प्रतियोगिता स्थलबारे जानकारी दिएको हो ।

पीएम कप लुम्बिनी प्रदेशको विभिन्न तीन स्थानमा आयोजना हुने भएको हो । भैरहवाको सिद्धार्थ रंगशाला र एक्स्ट्रा टेक ओभल तथा दाङको लमही मैदानमा पीएम कप आयोजना हुने भएको हो । फागुन २५ देखि चैत १६ गतेसम्म हुने प्रधानमन्त्री कप सिंगल राउन्ड रोबिन शैलीमा आयोजना हुनेछ । 

प्रतियोगिताको पहिलो दिन सिद्धार्थ रंगशलामा कोशी प्रदेशले घरेलु टिम लुम्बिनीसँग खेल्नेछ । एक्स्ट्रटेकमा बागमती र एपीएफ भिड्नेछन् भने लमहीमा कर्णालीले सुदूरपश्चिमको सामना गर्नेछ । सिंगल राउन्ड रोबिन शैलीमा प्रतियोगिता सम्पन्न भएपछि शीर्ष र दोस्रो स्थानमा टोलीले फागुन २९ गते फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । 

२१ दिनसम्म चल्ने प्रतियोगितामा सात प्रदेशका सात टोली र तीन विभागीय टोली सहभागी छन् । सिद्धार्थ रंगशालामा फाइनल सहित १७ खेल आयोजना हुँदा एक्स्ट्रा टेकमा १५ खेल हुनेछन् । लमहीले भने १४ खेल आयोजनाको अवसर पाउनेछ । क्यानले खेल समय भने बताएको छैन । 

सिद्धार्थ र लमही सरकार मातहतका मैदान हुन भने एक्स्ट्राटेक निजी रंगशाला हो । यसको निमार्ण कार्य भइरहेको छ ।



Enter Kantipur TV HD
Advertisement