काठमाडौं । कोशी प्रिमियर लिगमा आज नमुना ब्लास्टर्स र आयोजक भोक्राहा नरसिंह अर्नाजले जित हात पारेका छन् । दुहबी क्यापिटल्सले लगातार तेस्रो हार ब्योहोरेको छ भने इटहरी आदर्श जायन्ट्सको विजयी यात्रामा धक्का लागेको छ ।
सुनसरीको भोक्राहामा भएको आजको पहिलो खेलमा आयोजक भोक्राहा नरसिंह अर्नाजले दुहबीलाई ६१ रनले पराजित गर्यो । पहिले ब्याटिङ गरेको भोक्राहाले १९.३ ओभरमा १३० रन जोडेर सबै विकेट गुमाएको थियो । उसको लागि किरण ठगुन्नाले सर्वाधिक २७ रन बनाए ।
भुवन कार्की १९ रनमा अविजित रहे । दुहबीको बलिङमा शाहब आलमले ३ विकेट लिए । १३१ रनको लक्ष्य पछ्याएको दुहबी १६.४ बलमा ६९ रनमा समेटियो । दुहबीका लागि विवेक यादवले सर्वाधिक २५ रन र शाहाब आलमले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । रोहन शाहले ४ र भुवन कार्कीले ३ विकेट हात पारे ।
आजको दोस्रो खेलमा इटहरीमाथि नमुना ब्लास्टर्सले एक रनको रोमाञ्चक जित हात पार्यो । टस जितेर ब्याटिङ गरेको नमुनाले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए भने कुशल मल्लले ४४ रन जोडे । इटहरी आदर्शका गुल्सन झाले ३ विकेट लिएका थिए । १५६ रनको लक्ष्य पछ्याएको इटहरी आदर्शले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा जितको लागि २ रन आवस्यक हुँदा कुशल भुर्तेलले कप्तान भुपाल लुइँटेललाई क्याच आउट पार्दै नमुनालाई जिताएका थिए ।
इटहरी आदर्शको लागि दिपेश कँडेल र फिर्दोश अन्सारीले समान ३१ रन बनाए । नमुनाका बलर प्रकाश कार्कीले सर्वाधिक ४ विकेट लिए । नन्दन यादव र कुशल भुर्तेलले समान २ विकेट आफ्नो नाम गरे । तीन खेल खेलेको नमुनाको यो दोस्रो जित हो ।