जनताको आवश्यकता अनुसार प्रदेश थपघट हुनसक्छ : प्रधानमन्त्री ओली

फाल्गुन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
जनताको आवश्यकता अनुसार प्रदेश थपघट हुनसक्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा हेरफेर हुनसक्ने कुरालाई सामान्य मान्नुपर्ने बताउनुभएको छ । शनिबार श्रीमती राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा संरचनागत पक्षहरू बढी सुधार तथा हेरफेर हुनसक्ने बताउनुभयो ।

उहाँले नागरिकका आवश्यकता अनुसार प्रदेश घटबढ पनि हुनसक्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा पनि हेरफेर र सुधार हुनसक्दछ । अझ त्यसका संरचनागत पक्षहरू बढी सुधार हेरफेर हुनसक्दछन् । ७ वटा प्रदेश ९ वटा पनि हुनसक्छ, ७ वटा प्रदेश ५ वटा पनि हुनसक्छ । त्यसो भयो भने पनि कुनै रुवावासी गर्नुपर्ने अवश्यक छैन । ६ वटा पनि हुनसक्छ । त्यो देशलाई आवश्यकता, विकासलाई आवश्यकता, जनतालाई आवश्यकता कस्तो हुन्छ, त्यस अनुसार गर्ने कुरा हो ।”

उहाँले आफू २०२२ सालबाट आन्दोलनमा लागेको र आफ्नै जीवनकालमा लोकतान्त्रिक गणतन्त्र ल्याएको बताउँदै अब त्यस्तो ठूलो केही राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्नुपर्ने आवश्यकता नरहेको बताउनुभयो । “सुधारहरू गर्नुपर्ने हुनसक्छ । सुधार गर्दै अघि बढ्छौं”, उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भक्तपुरको बालकोटमा रहेको घर श्रीमती राधिका शाक्यको कमाइबाट बनाएको पनि बताउनुभयो । उहाँले उक्त घर पनि नेपाल ट्रस्टलाई दान गरिसकेको बताउनुभयो । उहाँले आफूजति श्रीमतीसँग खुशी मानिस अर्को शायदै हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले श्रीमती राधिका नहुने हो भने अहिलेसम्म आफू बाँच्न सम्भव नरहेको जिकिर गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement