महाकुम्भबाट फर्किँदा दुर्घटना हुँदा सप्तरीका ३ र सुनसरीका १ जनाको मृत्यु

फाल्गुन १०, २०८१ |आरएन विश्वास
महाकुम्भबाट फर्किँदा दुर्घटना हुँदा सप्तरीका ३ र सुनसरीका १ जनाको मृत्यु

सप्तरी । भारतको उत्तरप्रदेशस्थित गोरखपुरको बासगाउँ थानाक्षेत्रको लिंकरोड एक्सप्रेसमा शुक्रबार राति भएको स्कर्पिओ दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ । सोही दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

प्रयागराजमा जारी महाकुम्भमा स्नान गरी फर्किरहेको नेपाली तीर्थयात्री सवार उक्त स्कर्पिओ ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी सप्तरीका तीन जना र सुनसरीका एक जनाको ज्यान गएको हो । मृत्यु हुनेहरुमा सप्तरीको कञ्चनरूप नगरपालिका- ७ की लिलावती चौधरी, परशुराम चौधरी, वडा नम्बर ५ की हरिहरदेवी यादव र सुनसरीको कोशी गाउँपालिका-२ की सन्तोलियादेवी यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार दुर्घटनामा परी कञ्चनरूप नगरपालिका-७ का उपेन्द्रनारायण चौधरी, लालोदेवी यादव, वडा नम्बर ५ का जितु यादव, उदयपुरको चौदण्डीगढी नगरपालिका सिवाइका पपितलाल चौधरी र उनकी श्रीमती बिनादेवी चौधरी घाइते छन् ।

उतरप्रदेशको गोरखपुर जिल्ला अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ भने मृतकहरूको शव पनि पोस्टमोर्टमका लागि सोही अस्पताल राखिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement