काठमाडौं । नेपाल सुपर लिगको मिनी अक्सनमा ७ खेलाडी सर्वाधिक मूल्य चार लाख रुपैयाँमा बिक्री भएका छन् । तेस्रो संस्करणको सुपर लिगमा धेरैजसो टिमले अक्सन मार्फत् गोलकिपर किन्न चासो देखाउँदा नवयुग श्रेष्ठ र भरत खवास समेत अनसोल्ड भए ।
अक्सनमा ६ खेलाडी सर्वाधिक मूल्य ४ लाखमा बिक्री भए । मणिकुमार लामा सर्वाधिक मूल्यमा बिक्री हुने पहिलो खेलाडी बनेका छन् । उनलाई चितवन र ललितपुरले अन्तिम समयसम्म पनि बोली लगाएका थिए । त्यसमा ललितपुरले लक्की ड्रमा जितेको हो । अधिकतम मूल्यमा बिक्री हुने खेलाडीमा दिनेश हेन्जन, पासाङ लामा, आशिष गुरुङ, अभिषेक लिम्बू, जिलेस्पी जंग कार्की र सुमित श्रेष्ठ पनि रहे ।
खेलाडी किन्नका लागि सबै टिमलाई २२ लाख पर्स मनी उपलब्ध गराइएको थियो । सो रकममा सातै टिमले खेलाडी खरिद गर्दा ललितपुरले भने २५ हजार धेरै खर्च गरेको थियो । मिलन राई अक्सनमा बिक्ने पहिला खेलाडी बने भने सन्तोष खत्री अक्सनमा बिक्ने अन्तिम खेलाडी बनेका थिए । एक लाख ५० हजार आधार मूल्य भएका मिलन राईलाई ६ टोलीले बोली लगाएका छन् । गोला प्रथाबाट उनलाई चितवनले २ लाखमा पाएको हो । पोखरा थन्डर्स र झापाले भने एनआरएन खेलाडी लिने भएको कारण सबै रकम खर्च गरेनन् ।
अक्सनमा टिमहरूले गोलकिपर किन्न चासो देखाएका थिएनन् । विकेश कुथु, दीप कार्की, विशाल सुनार, जियारत शेख अनसोल्ड भएका थिए । तर, दीप र जियारत विसलिस्टबाट क्लबमा अनुबन्ध भएका हुन् ।
आज काठमाडौंले मेघ राज केसीलाई टेक्निकल डाइरेक्टरका रूपमा अक्सनमा प्रस्तुत गरेको थियो । काठमाडौंले विदेशी प्रशिक्षक ल्याउने तयारी गरेको जानकारी दिएको छ । भोला सिलवाल धनगढी सिटीका सहायक प्रशिक्षक बनेका छन् ।