काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी रहेको बताउनुभएको छ । शनिबार स्वयम्भू महोत्सवको उद्घाटन गर्दै उहाँले नेपालको विशेषता भनेकै स्थानीय खानेकुरा, संस्कृति, धर्म, कला भएको उल्लेख गर्नुभयो ।
उहाँले महेत्सवले नेपालको संस्कार, संस्कृति, धर्म, कला र परिकारहरुको प्रवर्द्धन गर्ने बताउनुभयो । उहाँले युवा पुस्तालाई स्थानीय परिकार, धर्म, संस्कृति र कलाको महत्त्व बुझाउनसके नेपालले धेरै प्रगति हासिल गर्ने बताउनुभयो । उहाँले नेपाली परिकारहरू धेरै नै पौष्टिक रहेको उल्लेख गर्दै अहिले विदेशीहरूले सिको गरेर खाने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिलेको नयाँ पुस्ता यो खानेकुरा खाँदा के असर गर्दछ, यसमा क्याल्सियम छ कि छैन ? प्रोटिन छ कि छैन ? यस्तो कुराको जानकारी एकदमै लिन खोज्छ । हाम्रो स्थनीय परिकारहरूमा न्युट्रिसियन भ्याल्युहरू एकदमै धेरै हुन्छ । धेरै हुन्छ भन्ने कुरा हामीले प्रचार गरिरहेका हुँदैनौं । हाम्रो स्थानीय उत्पादनहरूमा के कति पाइन्छ भन्ने कुरा बिस्तारै नयाँ पुस्तालाई भन्दै गए हाम्रो खाने कुराप्रतिको आकर्षण अझै बढ्छ । हाम्रो खाना, हाम्रो खाजा यति सम्पूर्ण छ, अहिले विदेशीहरूले कुरा बुझ्दै हाम्रो खाने कुराहरू अपनाउन थालेका छन् । यसलाई प्रवर्द्धन गर्दै जानुपर्छ ।”