काठमाडौं । दक्षिण अफ्रिकाले, आइसीसी च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेलमा अफगानिस्तान माथि १ सय ७ रनको फराकिलो जित हात पारेको छ ।
प्रोटियसका लागि रायन रेकिल्टनले शतकीय इनिङस खेले । पाकिस्तानको कँराचीस्थित नेशनल स्टेडियममा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो ।
ओपनर टोनी डि जर्जी एघार रनमा मोहम्मद नाबीको बलमा आउट भएका थिए । त्यतिबेला टिमको स्कोर २८ रन थियो । दोस्रो विकेटका लागि रेकिल्टन र कप्तान टेम्बा बाभुमाले १ सय २९ रनको साझेदारी गरे । नाबीले बाभुमालाई ५८ रनमा क्याच आउट गर्दै साझेदारी तोडेका थिए । रेकिल्टन एक सय तीन रनमा रन आउट भए ।
रेकल्टिनको ओडिआइमा यो पहिलो शतक हो । रस्सी भान डर डसनले ५२ रनको योगदान गरे । ऐइडेन माक्रम ५२ रनमा अविजीत रहे । डेभिड मिल्लरले १४ रन जोडेका थिए । जवाफमा अफगानिस्तान ४३ ओभर तीन बलमा २ सय ८ रनमा अल आउट भयो ।
शीर्ष तीन ब्याटरले राम्रो सुरुवात दिलाउन सकेनन् । रहमानुल्लाह १०, इब्राहिम जाद्रन १७ र सेदिकुल्लाह अतल १६ रनमा पभेलियन फर्किए । कप्तान हस्मातुल्लाह साहिदीले खाता खोल्न पाएनन् । रहमत साहले ९० रन बनाउँदै जितको प्रयास गरेका थिए । तर अन्य ब्याटरले साथ नदिदा सफल भएनन् ।
अज्मातुल्लाह ओमरजाइ १८ र रासिद खान पनि १८ रनमा नै मैदान बाहिरिएका थिए । कागिसो रवाडाले तीन, लुंगी एनगिडी र वियान मल्डरले दुई दुई विकेट लिए । समुह बी मा रहेको दक्षिण अफ्रिकाले दुई अंक जोडेको छ । प्रतियोगितामा आज यसै समुहमा रहेका अस्ट्रेलिया र इंग्ल्यान्ड बीच खेल हुनेछ ।