काठमाडौं । युएफा महिला नेसन्स लिगमा स्पेनले, बेल्जियम माथि ३-२ गोलको रोमान्चक जित हात पारेको छ ।
भ्यालेन्सियामा गएराति भएको खेलमा साविक विजेता स्पेन २-० गोलले पछि परेको स्थितिबाट खेलमा फर्किएको थियो । १८औं मिनेटमा मरियम तोलोबाले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएकी थिइन् ।
७२औं मिनेटमा टिसाले टिमका लागि दोस्रो गोल थपिन् । तर स्पेनले बाँकी समयमा तीन गोल फर्काउँदै बेल्जियममाथि सनसनीपूर्ण जित निकालेको हो । ७७ औं मिनेटमा क्लाउडिया पिनाले बेल्जियमसंगको दुरी २-१ मा झारिन् । इन्जुरी समयमा दुई गोल गरेपछि बेल्जियम स्तब्ध भएको हो ।
स्पेनका लागि लुसिया गार्सिया र क्रिस्टिना मार्टिनले गोल गरेका हुन् । यो खेल, स्पेन फुटबल संघका पूर्व अध्यक्ष लुइस रुवियालेसलाई अदालतले चुम्बन घटनामा दोषी ठहर गरेको भोलिपल्ट भएको हो । विश्वकप फाइनलमा रुवियालेसले विजेता टिम स्पेनकी जेनी हर्मोसोलाई चुम्बन गरेका थिए । विना अनुमति उनले चुम्बन गरेको भन्दै अदालतले दोषी ठहर गरेको हो ।
कोर्ट अफ आर्बिट्रेशन फर स्पोर्टसले पनि अदालतको निर्णयविरुद्ध रुवियालेसले गरेको अपिल खारेज गरिदिएको छ । गएराति नै भएका नेशन्स लिगका अन्य खेलमा इटालीले बेल्सलाई १-० गोलले हरायो । इटालीको जितमा पाँचौ मिनेटमा बारबारा बोनान्सियाले गरेको गोल निर्णायाक बन्यो । इंग्ल्यान्ड भने पोर्चुगलसँग १-१ गोलको बराबरीमा रोकियो । १५औं मिनेटमा एलिसिया रुसोले गोल गरेपछि इंग्ल्यान्डले जोगाउन सकेन् । ७५औं मिनेटमा घरेलु टिमकी किका नाजारेथले बराबरी गोल गरेकी हुन् ।
जर्मनी र नेदरल्यान्डसले पनि २-२ गोलको बराबरी खेलेका छन् । फ्रान्सले नर्वेलाई १-० ले हराउँदा पोल्यान्डले नर्दन आयरलयान्ड २-० र रिपब्लिक अफ आयरल्यान्डले टर्कियलाई १-० गोलले पराजित गरेको छ ।