काठमाडौं । जर्मन लिग बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिखले ब्रेमेनलाई हराएको छ। बायर्नको एलिनाज एरिनामा भएको खेलमा घरेलु टिमले ३-० को जित निकालेको हो । लिगमा ब्रेमेनको यो सातौँ हार हो ।
बायर्नको जितमा ह्यारी केनले दुई गोल गरे । प्रतिस्पर्धात्मक नदेखिएको पहिलो हाफमा बायर्न र ब्रेमेन दुवैलै गोल गर्न सकेनन् । दोस्रो हाफमा बायर्नले तीन गोल गर्यो ।
५६औं मिनेटमा घरेलु टिमले पेनाल्टीको अवसर पायो । डिफेन्डर एन्थोनी जङको हातले बल छोएपछि रेफ्रीले पेनाल्टी दिए । बायर्नका लागि केनले गोल गर्दै सोही पेनाल्टीबाट अग्रता बनायो ।
कोनार्ड लाइमरले दिएको पासमा लेरोय सानेले खेलको ८२औं मिनेटमा गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर पारे । केनले नै फेरि पेनाल्टीबाट इन्ज्युरी समयमा गोल गरेपछि बायर्नले ३-० गोलको जित निश्चित गर्यो । गएरातिको खेलपछि केनले बुन्डेसलिगमा ५७ गोल पूरा गरेका छन् ।
यो जितले बायर्नलाई शीर्षस्थानमा अझै बलियो बनाएको छ । ५४ अंक बनाएको बायर्न दोस्रो स्थानको लिभरकुसनभन्दा ९ अंकले अघि छ । पराजित ब्रेमेन भने ३० अंकका साथ आठौं स्थानमा छ । ऊ चौथो स्थानको लाइप्जिकभन्दा तीन अंकले पछि छ भने बायर्नभन्दा २४ अंकले पछि छ । गएरातिको खेलमा ब्रेमेनले २५ प्रतिशत समय मात्रै बल नियन्त्रणमा लिएको थियो ।