काठमाडौं । कंगोको दोस्रो ठूलो शहर गोमास्थित जेल तोडेर भाग्ने क्रममा पुरुष कैदीहरूले डेढ सयभन्दा बढी महिला कैदीलाई जबरजस्ती करणीपछि जलाएर हत्या गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघीय मानव अधिकार कार्यालयका प्रवक्ता सेफ मगाङ्गोले सीएनएनलाई जनाए अनुसार जबर्जस्ती करणीमा परेका १६५ महिला कैदीमध्ये धेरैजसोको आगोमा जलेर मृत्यु भएको छ । १३ महिला भने बाँच्न सफल भएको उहाँको भनाइ छ ।
कंगोमा विद्रोही समूह ‘एम ट्वेन्टी थ्री’ र कंगाली सेनाबीच गोमा शहरमा भिडन्त भइरहेका बेला पुरुष कैदीहरूले जनवरी २७ मा सामूहिक रूपमा भाग्ने योजना बनाएका थिए भने सो क्रममा उनीहरूले कारागारमा आगो लगाउने निर्णय गरेका थिए । सोही क्रममा उनीहरूले महिला कैदीको हत्या गरेको बताइएको छ । उक्त दिन करिब ४ हजार कैदी भाग्न सफल भएको सीएनएनले जनाएको छ ।
कंगोका सञ्चारमन्त्री प्याट्रिक मुयायाले १६५ महिला कैदीको मृत्यु भएको स्पष्ट पार्दै यस्तो बर्बर अपराधको भर्त्सना समेत गरेको सीएनएनले जनाएको छ । यस्तै राष्ट्रसंघको मानव अधिकार कार्यालयले कंगोका सेना र यसका सहयोगी सेनासँग सम्बन्धित यौन हिंसाका अन्य घटनाको रिपोर्ट प्राप्त भएको बताएको छ ।
यस्तै केही दिनदेखि कंगोमा जारी हिंसामा कम्तीमा तीन हजारको मृत्यु भइसकेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघले २ हजार मृतकको शव फेला पारेको बताएको छ भने ९ सय शव अस्पतालमा रहेको जनाइएको छ ।