काठमाडौं । महिला टि ट्वान्टी आई त्रिकोणात्मक सिरिजमा आज नेपालले थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यो सिरिजकै अन्तिम खेल पनि हो ।
घरेलु टिम जीतका साथ सिरिज टुंग्याउने लक्ष्यमा छ । नेपालले यसअघिका पाँचौं खेलमा हार बेहोरेको थियो । थाइल्यान्डसँग जारी सिरिजको पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा ५ रनले पराजित भएको थियो । नेदरल्यान्डसँग पनि नेपालले तीनै खेल जीत्न सकेन् । घरेलु समर्थक बीच थाइल्यान्डलाई हराउने अवसर नेपाल सामु छ । यो खेलमा प्रशिक्षक मनोज कटुवालले बेन्चमा रहेका खेलाडीलाई पनि मौका दिन सक्छन् । राजमती चौधरी डेब्युको प्रतिक्षामा छिन् ।
सिरिजको आफ्नो चौथो खेलमा नेदरल्यान्डससँग दश विकेटले पराजित भएको नेपाल पुनरागमनको प्रयासमा हुनेछ । सो खेलमा पूजा महतोले अर्धशतक बनाएपछि नेपालले एक सय ४५ रनको योगफल बनाएको थियो । तर नेदरल्यान्डसले विना क्षती पुरा गर्यो । आजकै खेलबाट सिरिज विजेताको पनि टुंगो लाग्नेछ ।
शीर्ष स्थानमा रहेको थाइल्यान्ड र दोस्रो स्थानको नेदरल्यान्डसको समान ८-८ अंक छ । नेट रन रेटमा थाइल्यान्ड अघि छ । हिजो भएको खेलमा नेदरल्यान्डसले थाइल्यान्डको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको थियो । त्यसैले नेदरल्यान्डसको पनि उपाधी संभावना कायमै छ । यदि नेपालले थाइल्यान्डलाइ फराकिलो अन्तरले पराजित गरे डच टोली च्याम्पियन बन्नेछ ।
ब्याटिङ र बलिङमा सन्तोषजनक प्रदर्शन गरे पनि फिल्डिङ कमजोर हुदा नेपाल जीत विहिन छ । थाइल्यान्डकी नन्नापाट एक सय ४३ रनका साथ जारी सिरिजमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीको दोस्रो स्थानमा छिन् । थाइल्यान्डकै स्पिनर थिपाट्चा पुथावङ १६ विकेट सहित पहिलो स्थानमा छिन् ।
नेपाल बाट सर्वाधिक विकेट मनिसा उपाध्ययले लिएकी छिन् । उनको नाममा साथ विकेट छ पूजाले एक सय २८ रन जोडेकी छिन् । खेल किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुनेछ ।