त्रिकोणात्मक महिला टी-२० आई सिरिजमा नेपालको पाँचौं हार

माघ २३, २०८१ |खेल ब्युरो
त्रिकोणात्मक महिला टी-२० आई सिरिजमा नेपालको पाँचौं हार

काठमाडौं । पूजा महतोको अर्धशतकका बाबजुद नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको छ। त्रिकोणात्मक महिला टी-२० आई सिरिजमा यो नेपालको लगातार पाँचौ हार हो। 

पहिले ब्याटिङ गरेको नेपालले नेदरल्याण्ड्सविरुद्ध निर्धारित २० ओभरमा १ सय ४६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा नेदरल्यान्ड्लले विना विकेट क्षति यो लक्ष्य पुरा गरेको हो।

कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार पारेको थियो । सम्झना खड्कालाई ६ रन र ममता चौधरीलाई एक रनमा गुमाएको नेपालले ७ रन जोड्दा दुवै ओपनरलाई गुमाइसकेको थियो। तेस्रो विकेटका लागि पूजा र कप्तान इन्दु बर्माले ७८ रनको साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा पुर्याए । यो साझेदारीलाई क्यारोलिन डे लाङले तोडिन् । उनले इन्दुलाई ३९ रनमा स्टम्पिङ गराइन् ।

रुबिना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट भइन् । पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । पूजाले करिअरको दोस्रो अर्धशतक पुरा गर्न ४३ बल खर्च गरेकी थिइन् । जारी सिरिजमा नेपाली ब्याटरले प्रहार गरेको यो पहिलो अर्धशतक हो । नेदरल्यान्ड्सका लागि आरिस विलिङले २ तथा क्यारोलिन र हेटर सिगर्सले समान १-१ विकेट लिइन् ।

जवाफमा नेदरल्यान्ड्सले १९ ओभर चार बलमा विना विकेट क्षति लक्ष्य पुरा गर्यो। उसका लागि ओपनर फेबे मोल्केन्बोएर र स्टेर केलिसले अविजित एक सय ५१ रनको साझेदारी गरे। नेपाली बलरले पाँच मात्रै अतिरिक्त रन प्रदान गरेको भए पनि विकेट लिन सकेनन्। फेबेले ४९ बलमा ४८ रन बनाइन्। त्यसैगरी विस्फोटक पारी खेल्ने क्रममा स्टेरले ६९ बलमा ९८ रनको योगदान गरिन्।

उनको प्रदर्शनपछि पूजाको अर्धशतक समेत छायाँमा पर्‍यो। स्टेर सिरिजको पहिलो शतक हान्ने खेलाडी हुनबाट दुई रनले मात्रै चुकिन । सो क्रममा उनले ११ चौका र दुई छक्का प्रहार गरिन्। नेपाली कप्तान इन्दू बर्माले सात बलरलाई प्रयोग गरेकी थिइन्। त्यै पनि नेपाल विकेटमा सफल हुन सकेन्। नेपाल यसअघिका चारै खेलमा पराजित भएको थियो।



Enter Kantipur TV HD
Advertisement