नेपाल ओलम्पिक कमिटीको निर्वाचनलाई आईओसीले दिएन मान्यता

माघ २३, २०८१ |खेल ब्युरो
नेपाल ओलम्पिक कमिटीको निर्वाचनलाई आईओसीले दिएन मान्यता

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक काउन्सिल एसिया (ओसीए) ले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचनलाई मान्यता दिन अस्वीकार गरेको छ ।

आईओसीको राष्ट्रिय ओलम्पिक समिति सम्बन्ध विभागका जेम्स म्याक्लेयड र ओसीएका प्रबन्ध निर्देशक हुसेन अल मुसलमले एनओसीलाई संयुक्त रूपमा पत्र लेख्दै नेपाल ओलम्पिक कमिटीको पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको र कानुनी बाधा अड्चनका विषयहरू पनि चाँडै समाधान गर्न आग्रह गरेको छ ।

नेपाल ओलम्पिक कमिटीले आईओसीकै रोहबरमा अनलाइन मार्फत निर्वाचन गरेको दाबी गरेको थियो । तर आईओसीले नै त्यसलाई अस्वीकार गरेको छ । आईओसी र एनओसीले नेपाल ओलम्पिक कमिटीले गरेको विधान संशोधन पनि अमान्य भएको बताएको छ ।

सर्वोच्च अदालत, राष्ट्रिय खेलकुद परिषद्, नेपाल सरकारको निर्देशन र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको स्वीकृतिबिना नै पुस १३ गते अनलाइन मार्फत नेपाल ओलम्पिक कमिटीको निर्वाचन गरिएको थियो । सो निर्वाचनबाट जीवनराम श्रेष्ठ तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका थिए । श्रेष्ठले तेस्रो कार्यकालका लागि निर्वाचित हुन विधान संशोधन समेत गरेका थिए । 

एनओसीको विशेष साधारण सभा र गत महिना सम्पन्न भएको निर्वाचनकै विषयमा कानुनी प्रश्न उठेकाले त्यो विषयमा अन्तिम टुङ्गो नलागेसम्म आईओसी र ओसीएले नयाँ कार्यसमितिलाई मान्यता दिइनसकेको पत्रमा उल्लेख छ ।

ओलम्पिक चार्टर, सुशासन र सर्वमान्य सिद्धान्तका आधारमा सबै पक्ष मिलेर वर्तमान समस्याको समाधान खोज्न समेत आईओसी र ओसीएले आग्रह गरेका छन् । अबको प्रक्रियामा कानुनी चुनौतीहरू समाप्त भएपछि मात्र अन्तिम निर्णय आउने आईओसीले जनाएको छ ।