नेपाली क्रिकेटलाई एकता, अनुशासन र रणनीति सिकाएका मोन्टी

माघ २१, २०८१ |सुवास रोकाया
नेपाली क्रिकेटलाई एकता, अनुशासन र रणनीति सिकाएका मोन्टी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेपछि उनी जिम्मेवारीबाट मुक्त भए । बितेको २ वर्षमा उनको नेतृत्वमा नेपाली क्रिकेट टिमले महत्वपूर्ण उपलब्धि हासिल गर्‍यो ।

१० वर्षपछि टी-२० आई विश्वकपमा सहभागिता र २०२७ सम्मका लागि एकदिवसीय मान्यता जोगाउनु उनको कार्यकालमा प्रमुख उपलब्धि रहे । हृयाप्पी ड्रेसिङ रुम र वान बल ब्याटलमा विश्वास गर्ने मोन्टीसँगको सहकार्य तोड्दै क्यानले नयाँ प्रशिक्षकको खोजी गर्ने निर्णय गरेको हो । क्यानको यो निर्णयले नेपाली क्रिकेट प्रेमीमाझ मिश्रित प्रतिक्रिया उत्पन्न गरेको छ ।

भारतीय मूलका मुख्य प्रशिक्षक मनोज प्रभाकरले चार महिनामै राजीनामा दिएपछि २०७९ माघमा कार्यभार सम्हालेका थिए मोन्टी देसाईले । त्यतिबेला नेपालको एकदिवसीय मान्यता धरापमा थियो । तर मोन्टीको प्रशिक्षणमा नेपालले लिग टु अन्तर्गत १२ मध्ये ११ खेल जित्दै एकदिवसीय मान्यता गुमाउने खतराबाट माथि उठ्यो । शीर्ष ३ मा रहँदै सिधै विश्वकप छनोटमा स्थान बनाउन सफल भयो ।

सोही प्रदर्शनले नेपालले चार वर्षका लागि एकदिवसीय मान्यता सुरक्षित गर्‍यो । विश्वकप छनोटमा टेस्ट राष्ट्र वेस्ट इन्डिज, जिम्बाब्वे र आयरल्यान्डसँग राम्रो प्रदर्शन गर्यो । घरेलु मैदानमा भएको एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट भयो । इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने अवसर पायो । उनकै प्रशिक्षणमा १० वर्षपछि नेपालले टि २० आई विश्वकपमा स्थान बनायो ।

विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई कडा चुनौती दिएपछि नेपाली क्रिकेटको चर्चा विश्वभर चुलिएको थियो । तर नेपाल दुबै खेलमा झिनो अन्तरले पराजित भएको थियो ।

मोन्टीले टोलीको एकता, अनुशासन, र रणनीतिमा सुधार ल्याउँदै "हृयाप्पी ड्रेसिङ रुम" र "वान बल ब्याटल" जस्ता नारामार्फत खेलाडीको मानसिकता बलियो बनाउन मद्दत गरे । नेपालले उनको आगमनपछि खेलेका ३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये २० खेलमा जित हासिल गर्‍यो । नेपालले टी-२० अन्तर्राष्ट्रियमा मोन्टीको नेतृत्वमा खेलेका ३८ खेलमध्ये २१ खेलमा जित दर्ता गर्‍यो । जसले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गराउन योगदान पुर्यायो ।

तर पछिल्लो समय नेपालको प्रदर्शन अपेक्षाअनुरुप छैन । नेपालका लागि प्रमुख प्रतियोगिता मानिएको विश्वकप लिग टुमा सहभागी ८ राष्ट्रमा नेपाल १२ खेलमा ६ अंकसहित सातौं स्थानमा छ । २ खेलमात्र जित्न सकेको नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन संघर्षरत छ । ओमानमा भएको एसिया कप छनोटमा पनि डिफेन्डिङ च्याम्पियन नेपाल चौथो भएको थियो । टोलीको अस्थिर ब्याटिङ र दबाबमा खेल्ने क्षमतामा आएको गिरावटका कारण क्यानले नयाँ र थप दक्ष प्रशिक्षकको आवश्यकता महसुस गरेको हुन सक्छ ।

नेपाली क्रिकेटले नयाँ प्रशिक्षकबाट अझै बलियो रणनीति, स्थिरता, र निरन्तर सुधारको अपेक्षा राखेको छ । मोन्टी देशाइको नेतृत्वमा नेपाली क्रिकेटले महत्वपूर्ण उचाइ हासिल गरे पनि उनको बिदाइ औपचारिक रूपमा नगरिनुले क्रिकेटप्रेमीमाझ मिश्रति प्रतिक्रिया उत्पन्न गरेको छ । फ्यान फेवरेट भएकै कारण मोन्टी नेपाली क्रिकेट समर्थकमाझ भावनात्मक रुपमै जोडिएका थिए । अब नेपाली क्रिकेटप्रेमीमा नयाँ प्रशिक्षकबाट थप सुधारको अपेक्षा छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।