काठमाडौं । एन्फा महिला लिग अन्तर्गत प्लेअफ चरणका खेलहरू आजबाट सुरू हुँदै छ । आज हुने एलिमिनेटर खेलमा सुपर लिग चरणमा तेस्रो स्थानको नेपाल पुलिस क्लबले चौथो स्थानको बागमती युथ क्लबसँग खेल्ने तालिका रहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज यो खेल दिउँसो पौने तीन बजेबाट हुनेछ । एन्फा महिला लिगमा आज पुलिस र बागमती चौथो पटक आमनेसामने हुँदै छन् । यसअघिका तीन खेलमध्ये दुई खेल गोलरहित बरबरीमा रोकिएका थिए भने एक खेल पुलिसले जितेको थियो ।
लिग चरणको आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लब र बागमती युवा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाढेका थिए । लिग चरणको खेलमा तुलनात्मक रूपमा त्यसअघिका खेलभन्दा बागमतीले डिफेन्समा राम्रो प्रदर्शन गरेको थियो । बागमतीका लागि गोलरक्षक सुजाता तामाङले पोस्टमा उत्कृष्ट किपिङ गरेकी थिइन् । उनले पुलिसका लागि चुनौती थपेकी थिइन् । दोस्रो हाफमा सुजाताले पुलिसकी पूजा रानाका दुई वटा प्रयासलाई असफल गरेकी थिइन् ।
यी दुई टोलीबीचको सुपर लिग चरणको पहिलो खेलमा भने पुलिसले २-० ले जितेको थियो । सो खेलमा पूजा राना र निरु थापाले गोल गरेका थिए । तर गत साता भएको सुपर लिग चरणकै दोस्रो खेलमा भने बागमतीले फेरि पुलिसलाई बराबरीमा रोकेको थियो । पुलिससँगको बराबरीकै कारण बागमतीले प्लेअफमा स्थान बनाएको हो । टचलाइनबाट खेलाडीलाई निर्देशन दिइरहेका पुलिसका प्रशिक्षक भोलानाथ सिलवाल टिमको प्रदर्शनबाट असन्तुष्ट देखिन्थे ।
विभागीय टोलीलाई बराबरीमा रोकेपछि बागमतीका प्रशिक्षक सुनीलकुमार श्रेष्ठ भने खुशी देखिन्थे । लिग चरणका आठ खेलमध्ये पुलिसले तीन जित र एक बराबरीसँगै १० अंक बनाएर तेस्रो हुँदै प्लेअफमा पुगेको हो । त्यसैगरी बागमतीले भने ८ खेलबाट चार अंक जोडेर प्लेअफमा स्थान बनाएको हो ।
पुलिससँग निरु थापा, पूजा राना, अमृता जैशी जस्ता राष्ट्रिय टोलीको समेत अनुभव बटुलिसकेका खेलाडी रहेका छन् । यता बागमतीसँग स्टार खेलाडी नभए पनि उसले राम्रो टिम खेलिरहेको छ ।