वुल्भ्स विरुद्धको जितसँगै चेल्सी लिगको शीर्ष चारमा प्रवेश

माघ ८, २०८१ |खेल ब्युरो
वुल्भ्स विरुद्धको जितसँगै चेल्सी लिगको शीर्ष चारमा प्रवेश

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा चेल्सीले वुल्भ्समाथि ३-१ को जित हासिल गर्दै पाँच खेलको जितविहीन यात्रा समाप्त गरेको छ । दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गर्दै जित हात पारेसँगै चेल्सी लिगको शीर्ष चारमा प्रवेश गरेको छ ।

स्ट्यामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन टोसिन अडाराबियोयो, मार्क कुकुरेला र नोनी माडुकेले गोल गरे । वुल्भ्सका लागि म्याट डोहटीले एक गोल फर्काए ।

२४ औं मिनेटमा टोसिनले गोल गरेपछि चेल्सीले सुरूआती अग्रता बनाएको थियो । तर पहिलो हाफको थप समयमा डोहर्टीले बराबरी गोल फर्काए । ६० औं मिनेटमा कुकुरेलाले चेल्सीका लागी दोस्रो गोल गरे । आफ्नो १०० औं प्रिमियर लिग खेलमा कुकुरेलाले माडुकेको डिफ्लेक्टेड क्रसलाई पोस्टको दिशा दिएका थिए । त्यसको पाँच मिनेटपछि कोल पाल्मरको कर्नरमा माडुकेले गोल गरेपछि चेल्सीले ३-१ गोल अन्तरको जित सुनिश्चित गर्‍यो । 

यस जितसँगै एन्जो मारेस्काको टोली चेल्सी, न्युक्यासल युनाइटेड र म्यानचेस्टर सिटीलाई पछि पार्दै प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । उसले २२ खेलमा ११ अंक सहित ४० अंक जोडेको छ । गोल अन्तरको आधारमा रेलिगेसन क्षेत्रभन्दा बाहिर रहेको वुल्भ्स २२ खेलमा १६ अंक सहित १७ औं स्थानमा छ ।



Enter Kantipur TV HD
Advertisement