काठमाडौं । साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । गए राति सम्पन्न खेलमा लास पाल्मासलाई ४-१ ले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो ।
१५ पटकको विजेता रियललाई शीर्ष स्थानमा पुर्याउन केलियन एमबाप्पेले महत्त्वपूर्ण भूमिका खेले । सुरूआती २६ सेकेन्डमै एक गोल बेहोरेको रियलले त्यसपछि खेलमा शानदार पुनरागमन गर्यो ।
सान्टियागो बर्नाबेउमा २६ औं सेकन्डमा फाबियो सिल्भाले गोल गरेपछि लास पाल्मासले सुरूआती अग्रता बनाएको थियो । १८ मिनेटमा रियलले बराबरी गोल फर्कायो । रोड्रिगोमाथि फाउल भएपछि केलियन एमबाप्पेले पेनाल्टी स्पटबाट बराबरी गोल फर्काएका हुन् ।
३३ औं मिनेटमा लुकास भाज्क्वेजको पासमा ब्राहिम डियाजले गोल गरेपछि रियलले खेलमा १ गोलको अग्रता लियो । त्यसको तीन मिनेटपछि रोड्रिगोको असिस्टमा एमबाप्पेले टप कर्नरनमा फिनिस गरेपछि रियल ३-१ ले अघि बढ्यो । ५७ औं मिनेटमा रोड्रिगोले गोल गरे । गार्सियाको क्रसमा रोड्रिगोको प्रहारले जाली चुमेको थियो
६४ औं मिनेटमा लास पाल्मास १० खेलाडीमा सीमित भयो । भाज्क्वेजमाथि फाउल गरेपछि उनलाई सीधै रातो कार्ड देखाइएको थियो । रियलका थप केही प्रहार अन टारगेट भए पनि अफसाइड ट्यापमा परे ।
जितसँगै रियलले २० खेलमा १४ जित सहित ४६ अंक जोडेको छ । ऊ लिगको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिड ४४ अंक सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको बार्सिलोनाको ३९ अंक छ । पराजित लास पाल्मास २० खेलमा २२ अंक सहित १४ औं स्थानमा छ ।