काठमाडौं । सन् २०२५ लागेयता कमब्याक गरिरहेको साविक विजेता म्यानचेस्टर सिटीले प्रिमियर लिगमा इप्सविच टाउनलाई ६-० गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै सिटीले अंक तालिकामा चार स्थान सुधार गर्दै चौथो स्थानमा पुगेको छ ।
सिटीको जितमा फिल फोडेनले २ गोल गरे । २७ औं मिनेटमा फोडेनको गोल मार्फत सिटीले सुरूआती अग्रता बनाएको थियो । फोडेनले कप्तान केभिन डे ब्रुयनको पासमा गोल गरेका हुन् । त्यसको ३ मिनेटपछि माटेओ कोभासिकले दोस्रो खेल थपे । यस पटक पनि डे ब्रुयनले नै पास उपलब्ध गराएका थिए ।
यससँगै इप्सविचको घरेलु मैदान पोर्टम्यान रोडमा सिटीले पहिलो हाफमा २-० को अग्रता बनायो । ब्रेकपछि आगन्तुक टोली थप आक्रामक बन्यो । ४९ औं मिनेटमा ज्याक क्लार्कको स्लोपी पासलाई जेरेमी डोकुले गोलमा परिणत गरे । १० वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेका एर्लिङ हालान्डले ५७ औं मिनेटमा गोल गर्दै सिटीलाई ५-० ले अघि बढाए ।
६९ औं मिनेटमा जेम्स म्याकेटीले गोल गरेपछि सिटीले ६-० को सहज जित हात पार्यो । बिहीबार युएफा च्यम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको जित्नै पर्ने खेलअघि पेप ग्वार्डियोलाको टोलीले राम्रो लय समातेको छ ।
यस जितपछि सिटी आठौं स्थानबाट माथि उक्लिदै चौथो स्थानमा पुगेको छ । सिटीले २२ खेलमा ११ जित सहित ३८ अंक जोडेको छ । रेलिगेसन जोनमा रहेको इप्सविचले २२ खेलमा १६ अंक जोडेको छ ।