युद्धविरामको खुशी : बमबारीबाट आतसबाजीमा बदलिएको गाजाको आकाश

माघ ८, २०८१ |प्रभात सिंह
युद्धविरामको खुशी : बमबारीबाट आतसबाजीमा बदलिएको गाजाको आकाश

काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच १५ महिनादेखि चल्दै आएको युद्ध तत्कालका लागि रोकिएको छ । हमासले बन्धक बनाएका तीन जनालाई रिहा गरेको छ भने इजरायलले ९० जनालाई छाडेको छ । युद्धविरामको पहिलो दिन गाजामा खुशियाली छायो । योसँगै विश्वमा शान्तिको आशा पलाएको छ ।

कुनै बेला इजरायली सेनाको बमबारीले ज्वलन्त हुने गाजाको आकाश अहिले युद्धविरामको खुशियालीमा गरिएको आतसबाजीले प्रज्वलित हुन थालेको छ ।

युद्धविरामको पहिलो दिन इजरायलले बन्दी बनाएका ९० जना छाडेको छ भने हमासले पनि ३ जनालाई रिहा गरेको छ । १५ महिनासम्म बन्दी बनाएर राखिएकाहरू खुला संसारमा आउँदा र परिवारका सदस्यहरूसँग भेट्दा उत्साहित देखिएका छन् । त्यति मात्र होइन, गाजाबाट विस्थापित लाखौं मानिस अहिले थातथलो फर्किन थालेका छन् । गाजा, जेरुसेलम, वेस्ट बैंक र इजरायलमा उत्सवको माहोल छ ।

युद्धविराम र बन्दी रिहाइको सम्झौता कार्यान्वयन भएसँगै मानवीय सहायता बोकेका ६३३ ट्रक गाजा प्रवेश गरेका छन् । यसले गाजावासीलाई केही राहत पुग्नेछ ।

१५ महिनाअघि सुरू भएको ४७१ दिन लामो युद्धमा इजलरायका चार सय सैनिक र १२ सय नागरिकको मृत्यु भएको थियो भने गाजामा ४६ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।

त्यसो त यति लामो समय चलेको युद्ध एकै दिनको प्रयासले अन्त्य भएको होइन । अमेरिका, कतार र इजिप्टले युद्धविरामका लागि पटकपटक प्रयास गरेका थिए । कहिले फकाउने र कहिले चेतावनी दिँदै दुवै पक्षलाई वार्तामा सहमत गराइएको हो । यो पूर्णयुद्ध अन्त्य भने होइन । पहिलो चरणको युद्धविराम ४२ दिनसम्म चल्नेछ ।

यो बीचमा हमासले ३३ जना र इजरायलले झन्डै एक हजार बन्दी रिहा गर्ने छ । सन् २०२३ को अक्टोबर ७ मा हमासले अप्रत्याशित आक्रमण गरेर २५१ जनालाई बन्धक बनाएर लगेको थियो । त्यसमध्ये ९१ जना हमासको नियन्त्रणमा रहेको बताइएको छ । त्यसमध्ये ६० जना जीवित रहेको इजरायलको विश्वास छ ।

युद्धविराम र बन्दी रिहाइ सम्झौता कार्यान्वयनमा आएको १६औं दिनमा दोस्रो र तेस्रो चरणका लागि वार्ता सुरू हुनेछ । त्यस बेलाको वार्तामा सहमति भए पूर्ण युद्धविराम र गाजा पुर्निर्माणका विषयमा सम्झौता हुनेछ । कहालीलाग्दो युद्ध रोक्न वार्ताबाटै सम्भव भएको हो । इजरायली र प्यालेस्टिनीहरूको मात्र होइन, विश्वकै आशा छ– अब अर्को चरणमा हुने वार्ता र सम्झौताले पूर्ण युद्धविराम हुने र गाजाको पुनःनिर्माणको बाटो खुल्नेछ ।

-एजेन्सीहरूको सहयोगमा


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement