काभ्रे । काठमाडौं विश्वविद्यालय (केयू)को कार्यवाहक उपकुलपतिको जिम्मेवारी प्रा.डा. अच्युतप्रसाद वाग्लेलाई दिइएको छ । उपकुलपति प्रा.डा. भोला थापाको पदावधि सकिएपछि केयूका रजिष्ट्रार वाग्लेलाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिइएको हो ।
कुलपति समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ साल माघ ७ गतेको निर्णय अनुसार वाग्लेलाई उपकुलपतिको जिम्मेवारी दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठले जानकारी दिनुभएको हो । विश्वविद्यालय कार्य व्यवस्था नियम, २०४९ को परिच्छेद ५ को दफा ५.४ को खण्ड (ट) बमोजिम अर्को व्यवस्था नभएसम्मको लागि दैनिक कार्य सञ्चालन गर्न रजिस्ट्रार वाग्लेलाई नै जिम्मेवारी दिइएको हो ।
केयूको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिसकेको छ भने समिति समेत विवादमा परेको छ । संस्थापक उपकुलपति सुरेशराज शर्माका आवेदकमध्येका दुई जना आफन्त नै रहेपछि सरकारले उपकुलपति नियुक्ति गर्न्न गठन गरेको समिति नै विवादमा मुछिएको हो । सरकारले गठन गरेको समितिले उपकुलपति बन्नका लागि मागेको आह्वानबाट १६ जनाले आवेदन दिएका छन् ।