खो खो विश्वकपका उपविजेता टोली स्वादेश फर्किए

माघ ७, २०८१ |खेल ब्युरो
खो खो विश्वकपका उपविजेता टोली स्वादेश फर्किए

काठमाडौं । खो खो विश्वकपमा रजत पदक जितेका नेपालको महिला र पुरुष राष्ट्रिय टोली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ऐतिहासिक पदक विजेता टोलीको भव्य स्वागत गरिएको हो ।

राष्ट्रिय खेलकुद् परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्साल, खो खो संघका अध्यक्ष प्रदीप महर्जनले नेपाली टोलीलाई स्वागत गरेका हुन् । नेपाली टोलीले इतिहासमा नै पहिलो पटक टिम गेमको विश्वकपमा पदक जितेको हो ।

विश्वकपमा पदक जितेपछि खेलाडीले खेलकुद विकास नियमावलीअनुसार ४५ लाख रुपैयाँ पाउने छन् । सो पुरस्कार चाँडै नै उपलब्ध गराउने राखेपले जनाएको छ । भारतको नयाँ दिल्लीमा भएको विश्वकपमा फाइनलमा भारतसँग पराजित भए पनि नेपालको महिला तथा पुरुष टोलीले बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

विश्वकपमा नेपालको महिला टिमले श्रीलंका, बंगलादेश, भुटान र इरानलाई हराएको थियो। पुरुषका टिमले पनि भुटान, पेरु, ब्राजिल, इरानजस्ता टोलीलाई हराएको थियो ।

नेपाली टोली यसअघिको प्रतियोगितामा बंगलादेशसँग पराजित भएको थियो। तर अहिले दक्षिण एसियाको अर्को बलियो टोलीलाई नेपाली खेलाडीले हराएका हुन्। नेपालले विश्वकपम पदक जितेपछि यो खेलमा नयाँ पुस्ताका खेलाडीमा क्रेज बढ्ने विश्वास गरिएको छ। विश्वकपमा पदक जितेपछि खेलाडीहरु उत्साही देखिएको छन् ।



Enter Kantipur TV HD
Advertisement