कञ्चनपुर । चुरे हुँदै बग्ने कञ्चनपुर जिल्लाका दोदा र सुनवरा नदी किनारका समुदायले बाढी नियन्त्रणका लागि अपनाएको महत्त्वपूर्ण उपाय हो जैविक तटबन्ध । नदी तटीय क्षेत्रको सुदृढीकरणका लागि स्थानीय रूपमा उपलब्ध प्राकृतिक सामग्रीहरू बालुवा, बाँस, घाँस र झाडी जस्ता सामग्रीको प्रयोग गरी नदीको बहावलाई सन्तुलित राख्न र माटोको क्षय रोक्न जैविक तटबन्ध गरिँदै आएको छ ।
कञ्चनपुरका सिमरी, भकुण्डा र कलुवापुर लगायतका समुदायहरूले स्थानीय तह र विकास साझेदार संस्थासँग मिलेर जैविक तटबन्धको निर्माण गरेका हुन् । प्रायः हरेक वर्ष बाढीको चपेटामा पर्नुको साथै भूमि कटानी र पटानीको समस्यामा पनि परेका यी समुदायको जीवनस्तरमा जैविक तटबन्धको प्रयोगले परिवर्तन समेत ल्याएको छ ।
जैविक तटबन्धले बाढीको जोखिमलाई कम मात्रै गरेको छैन, यसले पर्यावरणीय संरक्षणमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । विगतका वर्षहरूमा पुनर्वास नगरपालिका वडा नम्बर ९ र ७ मा बनाइएका जैविक तटबन्धले कृषकहरूको जमिनलाई कटानी र पटानीबाट बचाएको थियो ।
जैविक तटबन्धको निर्माणसँगै प्रभावित समुदायमा आर्थिक र सामाजिक सशक्तीकरणका विभिन्न उपायहरू पनि अपनाइएका छन् । बाढीको जोखिम कम भएको समयावधिमा उखु खेती र बगर खेती मार्फत समुदायहरूले आर्थिक स्थायित्व हासिल गरेका छन् । प्रभावित क्षेत्रहरूमा खर, काँस विस्तार समेत गरिएको छ । यसले उक्त क्षेत्रको जैविक विविधतामा पनि सुधार ल्याएको छ भने हरियाली समेत बढाएको छ ।
विपद् व्यवस्थापन र समुदायको सचेतनाका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको छ । बाढी मापन केन्द्रहरूको स्थापना, वाल पेन्टिङ र बाढी जोखिम न्यूनीकरणका तालिमहरूमा सहभागी भएका समुदायका सदस्यहरू विपद् व्यवस्थापनमा दक्ष भएका छन् ।
स्थानीय सरकार र विकास साझेदार संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहेको छ । तिनीहरूले स्रोत परिचालन, अनुगमन र सहकार्यका लागि कञ्चनपुरका विभिन्न वडासँग मिलेर काम गरेका छन् । यस सहकार्यले बाढी नियन्त्रण र विपद् व्यवस्थापनका कार्यक्रमलाई केही हदसम्म भए पनि प्रभावकारी बनाएको छ ।