काठमाडौं । सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ‘ए डिभिजन लिग’ विजेता चर्च बोइज क्लबले संकटा क्लबसँग खेल्ने भएको छ ।
आयोजक लोकतान्त्रिक खेलकुद संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको ड्र सार्वजनिक गरेको हो ।
प्रतियोगितामा ८ क्लबको सहभागीता रहनेछ। ए डिभिजनका सात क्लब रहने छन् भने बागमति खेलकुद संघको टिम आयोजकको तर्फबाट सहभागी बन्नेछ। क्वार्टरफाइनलको दोस्रो खेलमा ११ गते मछिन्द्र क्लबले विभागीय टिम एपिएफसँग खेल्नेछ ।
माघ १२ गते पुलिस र बागमति प्रदेश र १३ गते एनआरटीले फ्रेन्ड्स क्लबको सामना गर्नेछ। यि खेलका विजेता सेमिफाइनलमा पुग्ने छन् ।
दशरथ रंगशालामा दिउँसो ३ बजे हुने खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडीले गर्ने छ । आज प्रतियोगिताको मुल आयोजक समितिका संयोजक मोहनबहादुर बस्नेत र कान्तिपुरका सिओओ सुरजसिंह ठकुरीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
आयोजकले यो प्रतियोगिताको लागत एक करोड ६० लाख रहेको अनुमान गरेको छ भने विजेताले २६ लाख पुरस्कार पाउनेछ। त्यसैगरी उपविजेताले १३ लाख जित्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७५ हजार पाउँदा उत्कृष्ट गोलकिपर र टप स्कोररले समान ५० हजार जित्नेछन्।
उदीयमान खेलाडीलाई २५ हजार दिने आयोजकले जानकारी दिएको छ। यो प्रतियोगिता हरेक दुई/दुई वर्षमा आयोजना गर्ने आयोजकको लक्ष्य छ।