काठमाडौं । स्पेनिस लिग ला लिगामा बार्सिलोना चार खेलसम्म जितविहीन भएको छ । गए राति भएको खेलमा गेटाफेसँग १-१ गोलको बराबरीमा रोकिएपछि स्पेनिस सुपर कप च्यम्पियन बर्सिलोनाले घरेलु लिगमा लगातार चौथो खेलमा जित हासिल गर्न नसकेको हो ।
नतिजासँगै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिड र दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दूरी घटाउने अवसर गुमाएको छ । हान्सी फ्लिकको टोलीले खेल सुरू भएको ९ मिनेटमै अग्रता लिएको थियो । पेड्रीले उपलब्ध गराएको पासमा जुल्स काउन्डेले गोल गरे । तर, ३४ औं मिनेटमा घरेलु टोली गेटाफेका लागि माउरो अराम्बरीले बराबरी गोल फर्काए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल बराबरीमै सकियो ।
२० खेलमा १२ जित सहित ३९ अंक जोडेको बार्सा लिगको तेस्रो स्थानमा छ । समान खेलमा ४४ अंक सहित एट्लेटिको शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको रियल मड्रिड ४३ अंक सहित दोस्रो स्थानमा छ ।
रियलले आज लास पाल्मास विरुद्ध खेल्दै छ । उक्त खेल जिते रियल लिगको शीर्ष स्थानमा उक्लिने छ । गेटाफे २० खेलबाट २० अंक सहित १६औं स्थानमा छ ।