काठमाडौं । नेपाली राष्ट्रिय पुरुष टिमले खो खो विश्वकपको उपाधिका लागि आज घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दै छ । हिजो भएको सेमिफाइनलमा नेपालले उपाधि दाबेदार इरानलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।
भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २० अंकले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो । नेपालले भारतसँग पराजित हुँदै विश्वकप यात्रा सुरू गरेको थियो । नेपाल सोही हारको बदला लिने योजनामा हुनेछ ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा इरान विरुद्ध नेपालले टस जितेर पहिले डिफेन्स रोजेको थियो । अपराजित रहँदै अन्तिम चारमा पुगेको इरानले अपेक्षाकृत प्रदर्शन गर्न सकेन । अट्याकमा रहेको इरानलाई नेपालले ८ अंक मात्र जोड्न दियो । नेपालले ड्रिम रनमा तीन अंक बटुल्यो । टर्न टुको सात मिनेटमा नेपालले ३२ अंक हात पार्यो । समग्रमा नेपालले ३५-८ को अग्रता सहित इरानमाथि पकड जमाएको थियो ।
तेस्रो टर्नमा डिफेन्समा रहेको नेपालले एक अंक प्राप्त गर्यो । तेस्रो टर्नमा इरानले १२ अंक जोडेको थियो । चौथो टर्नमा ५२ अंक थपेपछि नेपाल समग्रमा ७२-२० को जित सहित उपाधि नजिक पुगेको हो । जनक चन्द ‘प्लयेर अफ द म्याच’ बने । समूह चरणमा भारतसँगको हारपछि नेपालले उत्कृष्ट पुनरागमन गर्यो । समूह चरणमा नेपालले पेरु, ब्राजिल र भुटानलाई हरायो । क्वार्टरफाइनलमा बंगलादेशमाथि जित दर्ता गरेको थियो । इरानले भने जारी विश्वकपमा बेहोरेको यो नै पहिलो हार हो ।
फाइनल खेल नेपाली समयअनुसार राति साढे ८ बजे सुरू हुनेछ । आजै नेपालको महिला टोलीले पनि भारत विरुद्ध नै महिलातर्फको उपाधिका लागि खेल्दै छ ।