काठमाडौं । भारतले आइसीसी महिला यू-१९ टि-ट्वान्टी विश्वकपमा जितका साथ उपाधी रक्षाको यात्रा सुरु गरेको छ । समुह ए मा रहेको भारतले आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गरेको हो ।
मलेसियाको क्वालालाम्पुर स्थित बायोमास ओभलमा भारतले टस जितेर फिल्डिङ रोज्यो । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजलाइ भारतले १३ ओभर दुइ बलमा ४४ रनमा अल आउट गर्यो ।
वेस्ट इन्डिजले पावर प्लेमानै चार विकेट गुमाएको थियो । कप्तान सामरा रामनाथ तीन रनमा ज्योसिताको बलमा आउट भइन् । नाइजान्नी र जाहजाराले खाता खोल्न सकेनन् । ब्रियाना हरिचरण पनि शुन्यमा मैदान बाहिरिन् । आसाबीले १२ र केनिका सेसरले १५ रन बनाउनु बाहेक अन्य सबै सस्तैमा पभेलियन फर्किए ।
पारुनिका सिसोडियाले तीन तथा ज्योसिता र आयुसी शुक्लाले २/२ विकेट हात पारे । भारतले ९४ बल बाँकी हुँदै लक्ष्य पुरा गर्यो । गोंगाडी त्रिसा चार रनमा आउट भइन् । कमालिनी १६ र सानिका १८ रनमा अविजीत रहे । जाहजाराले एक विकेट लिइन् । यसै समुहको अर्को खेलमा श्रीलङकाले मलेसियालाई १ सय ३९ रनको फराकिलो अन्तरले पराजित गर्यो ।
पहिले ब्याटिङ गरेको श्रीलङकाले ६ विकेटको नोक्सानीमा १ सय २६ रनको योगफल बनायो । दहामी सानेथ्माले ५५ रन जोडिन् । मलेसिया १४ ओभर एक बलमा २३ रनमा अल आउट भयो । चामोडी पार्बोडाले तीन विकेट लिइन् । नेपालले आफ्नो दोस्रो खेलमा सोमबार स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ ।
विश्वकपको डेब्यु खेलमा नेपाल बंगलादेश सँग पाँच विकेटले पराजित भएको थियो ।