नेपाल कबड्डी लिगमा विराटनगर र जनकपुरको जित

माघ ५, २०८१ |खेल ब्युरो
नेपाल कबड्डी लिगमा विराटनगर र जनकपुरको जित

काठमाडौं । विराटनगर ब्यान्डिक्ट्सले नेपाल कबड्डी लिगमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कवर्डहलमा आज भएको खेलमा विराटनगरले धनगढी वाइल्ड क्याट्सलाई ४६-३४ ले हराएको हो । 

खेलमा धनगढीले धेरै सफल रेड गरेको भए पनि सुपर रेडमा विराटनगर ३-१ ले अगाडि रह्यो। आजको जितसँगै विराटनगरले ५ अंक जोडेको छ। विराटनगरका नोफान्डनले सुरुमै धनगढीविरुद्ध सुपर रेड गरेका थिए । १-१ को बराबरीमा उनले तीन खेलाडी आउट गराउँदा विराटनगरले तीन अंक जोड्यो । विराटनगरले थप दुई रेडमा २ अंक जोड्यो । विराटनगरले सुरुवाती ७ मिनेटमै धनगढीलाई अल आउट गरेको थियो । यससँगै विराटनगरले ११-६ को अग्रता बनायो । त्यसपछि खेलमा फर्किएको धनगढीले लगातार रेड गर्‍यो।

केन्याका स्टेफेन अमोलो र अहन गामा पोल वाथालाई लगातार गुमाउनु धनगढीका लागि महंगो साबित भयो। उसले खेलाडी रिकभर गर्न नसक्दा मध्यान्तर अगावै दुई पटक अलआउट भयो । यो सत्रमा सुपर रेड नभए पनि विराटनगरले लगातार अग्रता बनायो । मध्यान्तरसम्म २४-१६ ले अगाडि रह्यो । मध्यान्तरपछि स्टेफेनले सुपर रेड गरेपछि धनगढीले ३ अंक थप गर्यो । 

थप रोमाञ्चक र दबाबपूर्ण बनेको दोस्रो हाफमा धनगढीले कमब्याकका लागि सबै प्रयास गर्यो। यता विराटनगरले दुई जना मात्र कोर्टमा भएको अवस्थाबाट रिकभर गर्दा र बोनस अंकसमेत स्कोर गर्न सफल बनेपछि अग्रता कायम राख्न सफल भएको हो। डू अर डाइपछि थाइल्यान्डका नोफान्डनले एक अंक जोडे । धनगढीले अन्तिममा सुपर ट्याकल बापत दुई अंक थप्यो । अन्तत विराटनगर ४६-३४ ले विजयी भयो । अन्तिममा धनगढीका एक खेलाडी मात्र कोर्टमा थिए ।

कबड्डी लिगमा आजै भएको अर्को खेलमा जनकपुर नाइट्सले हिमालयन रेडर्सलाई ३५-२४ हराएको छ । हिमालयन रेडर्स सुरुमै सुपर ट्याकल गर्न सफल भयो। तर उसले लय कायम राख्न सकेन। जनकपुरका सहिद अन्सारीले सुपर रेड गराए। त्यसलगत्तै थाइल्यान्डका चायाफोन कामुनीले पनि सुपर रेड गरे। यससँगै हिमालयन ११-७ को स्कोरमा अल आउट भयो। यता जनकपुरले १४-८ को अग्रता बनाएको हो।

मध्यान्तरसम्म जनकपुर १८-११ ले अगाडि रह्यो। दोस्रो हाफमा हिमालयन अल आउट हुँदा जनकपुर २७-१४ ले अगाडि थियो। हिमालयनले आफ्नो गल्तिबाट पाठ नसिक्दा उसका खेलाडी लगाता आउट भए। रिखभरीमा पनि अब्बल नहुँदा हिमालयन अल आउटनजिक पुगेको थियो। खेलभरी पछि नपरिकनै जनकपुरले ३५-२४ को जित हाँसिल गर्यो। लिगका लागि जनकपुरले थाइल्यान्डका २ र श्रीलंकामा २ खेलाडी अनुबन्ध गरेको छ।हिमालयन सँग बंगलादेश, केन्या र भारतका खेलाडी छन्।



Enter Kantipur TV HD
Advertisement