खो खो विश्वकप : उपाधिका लागि भारतसँग भिड्दै नेपाली महिला टोली

माघ ६, २०८१ |खेल ब्युरो
खो खो विश्वकप : उपाधिका लागि भारतसँग भिड्दै नेपाली महिला टोली

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले खो खो विश्वकपको उपाधिका लागि आज घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले सेमिफाइनलमा युगान्डालाई ७१ अंकले पराजित गर्दै फाइनलमा पुगेर ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।

नेपाल कुनै पनि खेलको विश्वकप फाइनलमा पुगेको यो पहिलो पटक हो । ऐतिहासिक अवसरलाई पूर्ण सदुपयोग गर्दै नेपाल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । भारतीय महिला टोलीले पनि सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । प्रतियोगितामा अपराजित रहँदै दुवै टोली फाइनलसम्म पुगेका हुन् ।

इन्दिरा गान्धी स्टेडियममा भएको सेमिफाइनल खेलमा युगान्डाले टस जितेर सुरूमा नेपाल विरुद्ध अट्याक गर्ने निर्णय लिएको थियो । नेपालले टर्न वानमा आशा थारूको उत्कृष्ट प्रदर्शनको मद्दतमा ड्रिम रन मार्फत् तीन अंक जोड्यो । युगान्डाले १२ अंक बनाएको थियो । टर्न टु मा अट्याकमा उत्रिएको नेपालले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दियो । टर्न टु सकिँदा नेपालले २७ अंकको अग्रता लियो ।

समग्रमा ३९-१२ अंकसहित नेपाल तेस्रो टर्नमा डिफेन्समा उत्रियो । युगान्डालाई लगातार दबाबमा राखेको नेपालले ड्रिम रन मार्फत् प्राप्त हुने सबै आठ अंक हासिल गर्‍यो । अट्याकमा रहेको युगान्डाले ६ अंक मात्र जोड्न सक्यो । अन्तिम टर्नमा जानुअघि नेपाल ४७-१८ ले अघि रह्यो । चौथो तथा अन्तिम टर्नमा ४२ अंक प्राप्त गरेसँगै नेपाल ८९-१८ ले विजयी हुँदै पहिलो संस्करणको खो खो विश्वकपको उपाधि नजिक पुगेको हो । 

नेपालले ड्रिम रनमा कुल ११ अंक हासिल गरेको गर्‍यो । टच मार्फत् सर्वाधिक ३८ अंक जोडेको थियो । स्काइ डाइभ मार्फत् २४ र पोल डाइभमा नेपालले चार अंक जोड्न सफल भयो । अन्य डाइभमा १० अंक बटुल्यो । अलराउन्ड प्रदर्शन गरेकी पूजा ओड ‘प्लेयर अफ द म्याच’ बनिन् । दीपा विक उत्कृष्ट डिफेन्डर घोषित भइन् । नेपालले समूह चरणमा भुटान, बंगलादेश र जर्मनीलाई पराजित गरेको थियो । क्वार्टरफाइनलमा इरानलाई हराएको थियो ।

नेपाली पुरुष टोलीले पनि आजै भारत विरुद्ध उपाधिका लागि खेल्दै छ ।



Enter Kantipur TV HD
Advertisement