काठमाडौं । काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा मुछिएका गोर्खा मिडियाका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
गत पुस २५ गते कास्की जिल्ला अदालतको आदेशबाट पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा उनी ८८ लाख धरौटीमा रिहा भएका थिए । उनी विरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको समेत मुद्दा भएकाले आफैं अदालत हुने शर्तमा रिहा भएका जोशी यसबीच अदालतमा उपस्थित भएका थिएनन् । तोकिएको समयमा अदालत उपस्थित नभएपछि उनी कानुनको नजरमा फरार प्रतिवादी भएका थिए ।
स्वर्णलक्ष्मी सहकारीकै रकम अपचलनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौं जिल्ला अदालतको आदेशमा ६० लाख रुपैयाँ धरौटीमा रिहा समेत भइसक्दा पनि जोशी सम्पर्कविहीन थिए । लामिछानेले पनि शुक्रबार अदालतमा हाजिर हुने भनेर आइतबार मात्रै पुगेका थिए ।