सल्यान । सुन्तला खेतीले पछिल्लो समय सल्यानका कृषकको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन आएको छ । उत्पादन राम्रो र बगैंचाबाटै बिक्री हुन थालेपछि सुन्तला खेतीको विस्तार भएको छ ।
सुन्तला बेचेर एउटा किसानले बर्सेनि कति कमाउँछन् त ? सल्यानको बागचौर नगरपालिका- ९ कोटमौलाका गिरदल डाँगीले सुन्तला खेतीबाट गत वर्ष बगैंचाबाटै सुन्तला बिक्री गरेर १८ लाख आम्दानी गर्नुभयो । उहाँले यस वर्ष २५ लाखमा ठेकेदारलाई बगैंचा ठेक्का दिनु भइसकेको छ । सुन्तला बिक्री गरेर उहाँले परिवार पाल्ने मात्र होइन दाङको तुलसीपुरमा घरजग्गा जोडेर छोराछारीलाई उच्च शिक्षा समेत दिलाउनुभयो ।
कोटमौलाकै बालाराम डाँगीले पनि सुन्तला खेती गरेर घर खर्च चलाउनेदेखि छोराछोरीलाई इन्जिनियरिङ पढाउनुभयो ।
राम्रो आम्दानी हुन थालेपछि वैदेशिक रोजगारीबाट फर्किएका युवा समेत सुन्तला खेतीमा लागेका छन् । उनीहरूले विदेशमा कमाएको पैसा र परिश्रम घर आँगनकै सुन्तला बगैंचामा लगानी गरेका हुन् । विगतमा खाद्यबालीबाट बाह्रै महिना खान नपुग्दा सधैं मजदुरीका लागि उनीहरू भारत वा अन्य देश जान बाध्य हुँदै आएका थिए ।
सल्यानमा २०४३/०४४ देखि फाटफुट र २०५० देखि व्यावसायिक रूपमा सुन्तला खेती हुँदै आएकामा अहिले यसको खेती विस्तार हुँदै १६ सय ७५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । जिल्लाको बागचौर, छत्रेश्वरी, शारदा, सिद्धकुमाख, त्रिवेणी कपुरकोट लगायत सुन्तला खेतीको लागि पकेट क्षेत्र हुन् । सबैभन्दा बढी बागचौरमा सुन्तला उत्पादन हुने गर्दछ । पछिल्लो समयमा सुन्तलामा विभिन्न रोग देखापरेपछि यसको उपचारसँगै किसानहरूको बारीमा कृषक पाठशाला पनि सञ्चालन गरिएको छ ।
अहिले बारीबाटै ८० देखि ९० रुपैयाँ प्रतिकिलोमा सुन्तला बिक्री भइरहेका छन् । यति बेला केही किसानलाई सुन्तला टिप्न र बिक्री गर्न भ्याइनभ्याई छ भने केही किसानहरू अझै मूल्य पाउने आशमा ठेकेदारहरूसँग मोलमोलाइ गरिरहेका छन् ।
गत वर्ष ८ हजार ७३८ मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष उत्पादन बढ्ने अनुमान पनि छ । सल्यानका सुन्तला नेपालका ठूला शहरहरूमा निर्यात हुँदै आएको छ ।