मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी स्थानीय तहको निर्वाचनमा पहिलो दल बनेर देखाउने दाबी गर्नुभएको छ । शनिबार माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका-५ तेतेरियामा गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यसअघि तेस्रो बने पनि २०८४ को निर्वाचनमा जसरी पनि पहिलो बन्ने बताउनुभएको हो ।
उपनिर्वाचनले दिएको संकेतका आधारमा पार्टीले २५० भन्दा बढी स्थानीय तहमा सजिलै जित हासिल गर्ने उहाँले दाबी गर्नुभयो । दाहालले वर्तमान सरकार देश बनाउन र सुशासन कायम गर्न नभई भ्रष्टाचारीलाई बचाउन बनेको आरोप लगाउनुभयो ।
अध्यक्ष दाहालले कुनै पनि बेला कांग्रेस र एमालेका नेता तथा कार्यकर्ता फस्न सक्ने भन्दै रातारात संविधान मिचेर अपारदर्शी गठबन्धन बनेको टिप्पणी गर्नुभयो । दाहालले अब देशमा सुशासन र विकासका लागि फेरि एक पटक माओवादी केन्द्रले बहुमत ल्याएर सरकार निर्माण गर्ने दाबी गर्नुभयो ।